सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टद्वारा बेलौरीमा मिनी कभर्ड हलको सिलान्यास

सुरज श्रेष्ठ, कञ्चनपुर, वैशाख १८ – सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा प्रदेश मामिला तथा विधायन समितिका सभापति दिवान सिंह विष्टले बेलौरी नगरपालिका–४ को खुलामञ्चमा निर्माण हुने मिनी कभर्ड हलको आज शिलान्यास गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ मा २० लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य सुरु गर्न लागिएको हो। आयोजनाको डिपिआर अनुसार कूल लागत १ करोड ३७ लाख रुपैयाँ रहेको छ। प्रारम्भिक चरणमा DPC (६५ बाई ७५) को काम सम्पन्न गरिने उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद विष्टले भन्नुभयो,

यो कभर्ड हल बेलौरी नगरपालिकाको केन्द्रमा पर्ने भएकाले सबैको सहज पहुँचमा रहेको छ। स्थानीय युवाहरूको लामो समयदेखिको मागअनुसार अब संरचित खेल पूर्वाधार बन्न थालेको छ।”

उहाँले आगामी आर्थिक वर्ष २०८२/८३ मा थप बजेट विनियोजन गरिने प्रतिबद्धता पनि जनाउनुभयो।कार्यक्रममा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठले प्रदेश सांसद विष्ट, नगर प्रमुख पोतिलाल चौधरी, वडा नं. ४ का अध्यक्ष अर्जुन ढकाल, तथा कभर्ड हल निर्माणको पहलमा संलग्न सबैलाई धन्यवाद र आभार व्यक्त गर्नुभयो।

निर्माण जिम्मेवारी लिएको उपभोक्ता समितिमा अध्यक्ष राजेन्द्र बहादुर चन्द, उपाध्यक्ष वसन्त पुन मगर, सचिव रजनिश भण्डारी, कोषाध्यक्ष भगवती श्रेष्ठ, सदस्यहरू शिशिर चापागाई, भगवती जोशी र राधा विष्ट रहेका छन्।
अनुगमन समितिमा वडा नं. ४ का अध्यक्ष अर्जुन ढकाल, अशोक श्रेष्ठ र दिनेश कुँवर छन् भने सहजकर्ताहरूमा महेन्द्र सिंह बुडाल, दिलीप चन्द र हिमाल श्रेष्ठ रहेका छन्।

खुलामञ्चमा निर्माण हुन लागेको यो मिनी कभर्ड हलले बेलौरी नगर क्षेत्रलाई खेलकुदको दृष्टिले सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ