काठमाडौ, २० वैशाख –सुदूरपश्चिम विश्वविद्यालयको सिनेटद्वारा आंगिक क्याम्पसमा समायोजन गर्ने निर्णय भइसकेको बेलौरी नगरपालिका, कञ्चनपुर स्थित महाकाली बहुमुखी क्याम्पसले स्वीकृत दरबन्दी अनुसार बजेट विनियोजन गरिदिन संघीय सरकारसँग औपचारिक माग गरेको छ। यही विषयमा क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह विष्टको नेतृत्वमा आज काठमाडौंमा गृह मन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग सामूहिक छलफल गरी ज्ञापनपत्र बुझाइएको हो।

गृहमन्त्री रमेश लेखकको पहल र समन्वयमा उहाँकै निवासमा आयोजित उक्त छलफलमा सुदूरपश्चिम प्रदेशका सिँनेटबाट पारित १३ वटा क्याम्पसहरूलाई प्राथमिकतामा राख्दै स्वीकृत दरबन्दी अनुसार बजेट विनियोजन गर्न समुहिक र साझा रूपमा पहल गरिदिन अनुरोध गरिएको हो।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, बेलौरी नगरपालिका वडा नं ७ का अध्यक्ष प्रकाश श्रेष्ठ, क्याम्पस प्रमुख धर्मराज जोशी, विभिन्न बहुमुखी क्याम्पसका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। उद्योग मन्त्री दामोदर भण्डारीसँगको भेट भने उहाँको संसदिय दलको बैठकका कारण केही ढिलो गरी छुट्टै रूपमा सम्पन्न गरिएको थियो।

ज्ञापनपत्रमार्फत आंगिक क्याम्पसहरूमा आवश्यक बजेट र दरबन्दी तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ। छलफलमा सहभागी मन्त्रीहरूले क्याम्पसको यो मागलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।क्याम्पस प्रतिनिधिमण्डलले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटघाट गरी थप पहल गर्ने तयारी गरिरहेको जनाएको छ।

क्याम्पस अध्यक्ष विष्टको नेतृत्वमा भइरहेको सक्रियता र पहलले उच्च शिक्षालाई ग्रामीण क्षेत्रसम्म प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएको छ। उहाँको यो पहल बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसको संस्थागत विकासका लागि सराहनीय कदमको रूपमा हेरिएको छ।






