नेपाल किसान महासंघको १५-बुँदे ज्ञापन, मेयर चौधरी: “कृषकका माग बजेटको पहिलो प्राथमिकता”

सुरज श्रेष्ठ, बेलौरी (कञ्चनपुर), वैशाख २३। नेपाल किसान महासंघ जिल्ला कार्यसमिति कञ्चनपुरले कृषकका हक, अधिकार र संरक्षणका लागि १५ बुँदे ज्ञापनपत्र बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको कार्यालयमै पुगेर औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा किसान महासंघका जिल्ला सदस्य दीपक बहादुर सिंहको नेतृत्वमा किसान प्रतिनिधिहरूको टोली उपस्थित थियो। उहाँसँगै जिल्ला सदस्य नरेश बहादुर चन्द, केन्द्रीय पार्षद एवं सुदूरपश्चिम प्रदेश सभापति कर सिंह नगारी, सुदूरपश्चिम कार्यसमिति सदस्य अरुण बहादुर खडायत,नगर सभापति प्रेमप्रसाद जैसी लगायत अन्य कृषक प्रतिनिधि सहभागी थिए।

कार्यक्रममा नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं. १ सभापति गोपी प्रसाद उपाध्याय, प्रदेश सभा क्षेत्र नं. १ (ख) का सचिवहरू खगेन्द्र प्रसाद पण्डित र दिनेश कुँवर, नगर सचिव भूपेन्द्र बहादुर शाही तथा नगर सदस्य डम्बर सिंह धामी सहभागी थिए।

ज्ञापनपत्रमा उल्लेखित मागहरूमा किसान परिचयपत्र उपलब्ध गराउने, उत्पादनको उचित मूल्य निर्धारण, अनुदान रकमको पारदर्शी वितरण, गुणस्तरीय बीउबिजन तथा मलखाद सुनिश्चितता, सहुलियत ऋण, हाटबजार स्थापना लगायतका विषयहरू समावेश छन्।

ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख पोतिलाल चौधरीले किसानका मागप्रति नगरपालिकाको उच्च प्राथमिकता रहेको बताउनुभयो।

“बेलौरी नगरपालिका वडा नं. ८ मा कृषि हाटबजार व्यवस्थित रूपमा सञ्चालनमा आइसकेको छ। त्यस्तै, बेलौरी बजारको खुला मञ्च नजिकै र गोकुलपुरमा अर्को हाटबजार सञ्चालनको अन्तिम तयारी भइरहेको छ,” उहाँले भन्नुभयो।

सहकारीमार्फत मलखाद वितरण पारदर्शी बनाइएको जानकारी दिँदै उहाँले थप्नुभयो, “म आफैं पनि कृषक हुँ, त्यसैले किसानको पीडा प्रत्यक्ष बुझ्छु। हाम्रो स्रोत र साधन अनुसारका सबै सम्भव प्रयासमा नगरपालिका लागिरहेको छ।”

नगरप्रमुख चौधरीले बजेट निर्माणमा कृषकका मागलाई पहिलो प्राथमिकतामा राखिएको प्रष्ट पार्दै केन्द्र र प्रदेश सरकारसँग समेत समन्वय गरेर कृषि क्षेत्रमैत्री योजना कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।

ज्ञापनपत्रका प्रमुख बुँदा (संक्षेपमा):

  • किसान परिचयपत्रको शीघ्र उपलब्धता
  • उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण
  • गुणस्तरीय बीउ, मल, औजारको सुनिश्चित आपूर्ति
  • उखु किसानको अनुदान रकम खातामा पठाउने व्यवस्था
  • जङ्गली जनावर र छाडा चौपायाबाट हुने क्षतिको रोकथाम र क्षतिपूर्ति
  • किसानले लालपुर्जा पाउने सुनिश्चितता
  • सहुलियतपूर्ण ऋण, कृषि बीमा, र दैवी राहत व्यवस्था
  • हरेक स्थानीय तहमा कृषि हाटबजार, संकलन केन्द्र र प्रशोधन इकाइ स्थापना

नेपाल किसान महासंघले नगरप्रमुखको सकारात्मक धारणा स्वागत गर्दै किसान समृद्धिका लागि नगरपालिकासँग सहकार्य बलियो बनाइने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ