बेलौरीमा सम्पन्न ‘नगर बखेरी’, भलमन्सा अध्यक्षमा पुनः अमर सिंह चौधरी चयन

बेलौरी,कञ्चनपुर।  कञ्चनपुरको बेलौरी नगरपालिकामा मंगलबार सम्पन्न ‘नगर बखेरी’ अर्थात् नगर भलमन्सा अधिवेशनबाट अमर सिंह चौधरी पुनः अध्यक्षमा चयन भएका छन्। थारु समुदायमा प्रचलित ऐतिहासिक भलमन्सा प्रणालीको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासको उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको हो।

बेलौरी नगरपालिका र नगर भलमन्सा समितिको संयुक्त आयोजनामा थारु छात्रावासमा आयोजित अधिवेशनमा नगर क्षेत्रभित्रका ८७ जना भलमन्सा सहभागी थिए। नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमबाट अध्यक्षमा अमर सिंह चौधरीलाई पुनः सर्वसम्मत चयन गर्दै पुरानै समितिलाई निरन्तरता दिइएको छ। सहायक भलमन्सा गुरुप्रसाद चौधरी र सुरेशकुमार बडायक चयन भएका छन् भने सचिवमा विक्रम चौधरी चयन भएका छन्। समितिका सदस्यहरूमा बत्तीराम, लालबहादुर, बलराम, खुसीराम, जुहारीलाल, हरिप्रसाद, जगतराम, रामप्रसाद र हरिलाल चौधरी छन्।

नव निर्वाचित अध्यक्ष चौधरीले समाजमा शान्ति, मेलमिलाप र सामाजिक न्यायको संवाहकको रूपमा भलमन्सा प्रणालीको सशक्त प्रयोग गर्दै आगामी पुस्तामा यसको निरन्तरता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे।

नगर प्रमुख पोतीलाल चौधरीले “भलमन्सा प्रणाली हाम्रो सामाजिक इतिहासको अभिन्न अङ्ग हो,” भन्दै यसलाई कानूनी संरचनामा बाँधेर नगरस्तरमै उदाहरणीय बनाउने बताउनुभयो। उहाँले नगर भलमन्सा ऐन २०७८ बमोजिम संरचना, जनशक्ति, बजेट र तालिमका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिनुभयो।

कार्यक्रममा वक्ताहरूले भलमन्सा प्रणालीको सामाजिक महत्त्व, यसको ऐतिहासिक पृष्ठभूमि र वर्तमानमा यसको भूमिका सम्बन्धमा धारणा राखेका थिए। समाचार र फोटो स्रोतः रेडीयो सुदूर सञ्चार

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ