मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
सामाजिक विकास कार्यालय, कञ्चनपुरको आयोजनामा आज ‘पालिका तथा गैर सरकारी संस्थाको सहकार्यमा अनिवार्य तथा
नि :शुल्क आधारभूत शिक्षा तथा भर्ना अभियान’ विषयक कार्यक्रम सम्पन्न भएको छ । बेलौरी नगरपालिका अन्तर्गतका सरोकारवालाहरुबीच आयोजित सो कार्यक्रमले नेपाल सरकारले २०७५ सालमा पारित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन बारे जानकारी गराएको थियो ।

सामाजिक विकास कार्यालय प्रमुख गोपाल दत्त जोशीले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट्याउदै भने, “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ पारित भएसँगै वि.सं २०७७ सालमा अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली स्वीकृत भयो जसलाई कार्यान्वयन गर्न अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्ययोजना तयार गरेको छ । यसको मुख्य उद्धेश्य भनेको २०८५ सालसम्म विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकाले आधारभूत तहको शिक्षा प्राप्त गराउनु हो । यदि यसो नहुन सकेको खण्डमा उनीहरु राज्यबाट दिईने सेवासुविधाबाट वञ्चित हुनेछन् । तसर्थ सबै सरोकारवालालाई जानकारी गराई कार्यन्वयन संयन्त्र बारे छलफल तथा अभिमुखीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

संविधानले प्रदत्त गरेको नागरिकले शिक्षा पाउने हकलाई कार्यान्वयन गर्न चालेको सो प्रकारको कदम प्रशंसनीय रहेको भन्दै बेलौरी नगरपालिकाका उपमेयर जोगराम चौधरीले पालिका भित्र रहेको सबै बालबालिकालाई शैक्षिक संस्थामा ल्याउन सबै सरोकारवालामा अपिल गरे । साथै उनले बेलौरी नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय दुवैलाई एकैतवरले समान व्यवहार गरेको भन्दै बालबालिकाको हकहितको लागि पालिका सदैव तदरुक रहेको बताए ।











