— लक्ष्मण दियाल
प्रधानाध्यापक, वात्सल्य विद्या निकेतन, बेलौरी–४, कञ्चनपुर
संबन्धित जनप्रतिनिधिहरू,
यति उदासीन र गैर जिम्मेवार कसरी हुन सक्नु हुन्छ तपाईहरु!?
न कुनै सूचना छ, न सूचना बोर्ड नै राखिएको छ र न कुनै चासो, चिन्ता र दवाव नै छ!
कुन खाले निद्रा हो यो, तपाईंहरुको ? के खाएर जनताको यति दुःखलाई पनि सजिलै पचाउनु सक्नु हुन्छ! जनताहरूले तपाईंलाई किन छानेका हुन, एक छिन भनी दिनुहोस न!

अरू ठूला कामको कुरा छाडौँ; बेलौरी बजारस्थित लक्ष्मी स्वीट्सदेखि धनगढीतर्फको रिछाहा सम्मको करिब ३ सय मिटर सडक निर्माणका लागि हामीले अझ कति वर्ष कुर्नु पर्छ? विगत दस वर्षदेखि यही सानो बाटोका लागि यहाँका जनताले आवाज उठाउँदै आएका छन्, तर सुनुवाइ छैन। के यस क्षेत्रका जनताको आवाजको कुनै अर्थ र मोल छैन?

हरेक वर्ष जसो अलि अलि सम्म भएको बाटो खनिन्छ, र पुन: अलि अलि गिट्टी कनिका छरे झै छरिन्छ।। यस-पल्ट पनि खनेको एक हप्ता भइसकेको छ। दिनहुँ हजारौँ यात्रु र विद्यार्थी हिँड्ने यो बाटोबारे न जनतालाई जानकारी दिइएको छ, नत यस बारे चासो नै दिइएको देखिन्छ, सरोकारवालाहरुले ।र, हप्तौँदेखि यस क्षेत्रमा थुप्रै तिरका बाटोहरू एकै पटक खनिएकोछ र बजार आऊन जान, स्कूलहरु सम्म पुग्न या अन्यन्त्र आवतजावत गर्न निकै दुविधा भएको छ, वैकल्पिक बाटोहरु पनि अलपत्र बनाइएको छ, र अचम्मको कुरा के छ भने, यसो हुँदा समेत सरोकारवालाहरु निस्फिक्र छन।
आखिर किन!???कस्ले दिन्छ, यस्ता गैर जिम्मेवार ठेकेदारहरुलाई प्रसय? र, किन दिन्छ प्रसय!?

यो हाम्रो काम होइन, ठेकेदारको काम हो, प्रदेशको हो , केन्द्रको हो; यस्ता अर्थहीन टिप्पणी नगर्नु होला। तपाईंको मातहतको क्षेत्रमा हुने या हुदैगरेका सबै कार्यको निगरानी, जिम्मेवारी तपाईंहरु कै हो र अझ सोझै भन्नु पर्दा तपाईंलाई विश्वास गरेर भोट गर्ने जनताको हरेक सुख दुःखको साझेदार तपाईंहरु हो। कसरी, नजरअन्दाज गर्न सक्नु हुन्छ, आँखै अगाडि जनताको बिचल्ली!?
अझ, ठूला मागहरु,आश/अपेक्षाहरु त जनताले तपाईंहरु बाट गर्नै छाडी सके। कमसेकम यो स्तरभन्दा तल नझर्नुहोस्, र, जनताको धैर्यताको परीक्षा पनि नलिनु होस्—Enough is Enough!
(यो लेखमा प्रस्तुत विचारहरू लेखकका व्यक्तिगत मत हुन्)





