धनबहादुर बिक,धनगढी, २९ वैशाख। सन्त निरंकारी सेवादलका भाइबहिनीहरूले धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम परिसरमा बृहत सफाइ गरेका छन्। सन्त निरंकारी मण्डलको जेठ १० गते शिवपुरीधामको सभाहलमा हुने सुदूरपश्चिम प्रदेश-स्तरीय बृहत सत्संग समारोहको तयारीस्वरूप सोमबार उनीहरूले सफाइ गरेका हुन्।

पुनर्वास, अत्तरिया, धनगढी, महेन्द्रनगर, ओलानी र मसुरिया शाखा सत्संग भवनका १२० जनाले स्वस्फूर्त रुपमा धामको सभाहल, मन्दिर परिसर, निवास वरपर, पानीधारा तथा शौचालय लगायतका क्षेत्रमा सरसफाइ गरेका छन्।अभियानको नेतृत्व गरेका अत्तरिया सत्संग भवनका सेवादल सञ्चालक करण वडका अनुसार जेठ १० गते हुने सत्संगमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट करीब पाँच हजार सन्त परिवार सहभागी हुने अनुमान गरिएको छ।
सन्त निरंकारी मिशनसँग सम्बन्धित युनिफर्ममा सुसज्जित १२० भाइबहिनीहरूले जंगलझैँ देखिएको सभाहल तथा वरपरको क्षेत्रमा व्यापक सफाइ गरेका छन्।कार्यक्रममा भारतको उत्तराखण्डका तथा सन्त निरंकारी मण्डलका प्रचार विभाग प्रमुख हेमराज शर्मा प्रमुख वक्ता रहनेछन् भने सुदूरपश्चिम प्रदेश सत्संग कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक झंकर बहादुर बिष्टले आवश्यक तयारीको समन्वय गरिरहेका छन्।

बृहत सत्संग सन्त निरंकारी मण्डल नेपालका प्रमुख नरबहादुर रावलको अध्यक्षतामा सम्पन्न हुनेछ । कार्यक्रममा मिशनसँग सम्बद्ध विभिन्न महात्माहरूले विचार तथा भजन-कीर्तन प्रस्तुत गर्नेछन्।





