काठमाडौँ, वैशाख ३०। कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का सांसद तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पीडा तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। वैशाख ३० गते प्रतिनिधि सभाको बैठकमा शून्य समय प्रयोग गर्दै सांसद तामाङले २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका नागरिकहरूको पुनस्र्थापनाको व्यवस्था अझै हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो।
उहाँले सरकारबाट अहिलेसम्म ३२ वटा आयोग गठन गरिए पनि समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो। विस्थापित परिवारहरू आरक्ष प्रशासनको कारबाही, जंगली जनावरको आक्रमण, सर्प–बिच्छीको टोकाई, वर्षायाममा शिविरहरूमा हुने क्षति लगायतका समस्यामा जिउन विवश रहेको बताउँदै उहाँले पीडितको सन्तानहरू पनि भूमिहीन हुने चिन्तामा रहेको धारणा राख्नुभयो।
सांसद तामाङले ढक्का शिविरसहित कञ्चनपुरका विभिन्न स्थानमा अँध्यारो जीवन बिताइरहेका पीडितहरूको न्यूनतम आवश्यकतासमेत पूरा नभएको उल्लेख गर्दै सरकारलाई छिटोभन्दा छिटो भूमि ऐन ल्याई पुनस्र्थापनाको व्यवस्था गर्न माग गर्नुभयो। उहाँले पीडितहरूको दीर्घकालीन समाधानका लागि मानविय हिसावले यथाशीघ्र कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो।





