बेलौरीका उद्यमी दिपेन्द्र विष्टको सामाजिक अभियान: जन्मदिनमा वृक्षारोपण र सरसफाइ

सुरज श्रेष्ठ, जेठ ५, बेलौरी , कञ्चनपुर। प्रतिष्ठित उद्यमी तथा समाजसेवी इञ्जिनियर दिपेन्द्र विष्टको जन्मदिनका अवसरमा आज बेलौरी नगरपालिका–४ स्थित भिमदत्त चौक, पिपल चौतारामा बेलौरी–काठमाडौं समाज, उग्रतारा बाल विद्यालय र स्वयं विष्टको सौजन्यमा तारजाली घेराबारसहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

समी, ब्रूष फूल, बेगम बेली लगायतका विरुवा रोपिएको कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट, बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, विद्युत् प्राधिकरण बेलौरीका प्रमुख टंक राज गिरी, समाजसेवी दिनेश कुँवर र अशोक पाण्डे, वाणिज्य बैंक बेलौरीका प्रमुख टीकाराम बुढा, श्रीपुर खानेपानीका अध्यक्ष गोविन्द सापकोटा, उग्रतारा बाल विद्यालयका सञ्चालक तथा महाकाली बहुमुखी क्याम्पसका सहायक प्रमुख गंगा प्रसाद रिजाल, बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीनारायण चौधरी, बाइसिएल बेलौरीका इन्चार्ज राजेश भट्ट , श्रीपुर खानेपानीका कोषाध्यक्ष रजनिश भण्डारी तथा उग्रतारा बाल विद्यालयका विद्यार्थीसहित युवा र स्थानीयको उल्लेखनीय उपस्थिति थियो ।

इञ्जिनियर विष्टले भने, “काठमाडौँमा बालेनले वृक्षारोपणबाट नयाँ परिवर्तन सुरु गर्नुभएको छ । धनगढीमा गोपी दाइले शहरलाई सुन्दर बनाउनुभएको छ । हामीले पनि बेलौरीलाई हराभरा बनाउन केही योगदान गर्नैपर्छ । यो सानो प्रयासले गर्मीको उच्च तापक्रम र जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने लक्ष्य राखेको छ ।”

नगर खेलकुद समितिका अध्यक्ष न्यौपानेले “यो भिमदत्त चोकमा वृक्षारोपण हुनुपर्ने थियो, आज पूरा भयो । बेलौरी–काठमाडौँ समाज, उग्रतारा बाल विद्यालय र इञ्जिनियर विष्टज्यूलाई हार्दिक धन्यवाद” भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे । उग्रतारा बाल विद्यालयका विद्यार्थी अमन विष्टले “बोट विरुवाले अक्सिजन दिन्छ, पानी पार्छ । यसले सामाजिक एकता र वातावरणीय चेतना फैलाउँछ” भन्दै विद्यालयका एमडी दिपेन्द्र विष्ट प्रति कृतज्ञता व्यक्त गरे । सञ्चालक रिजालले जन्मदिनजस्ता विशेष अवसरमा यस्ता कार्यक्रमले “आगामी पुस्तालाई प्रेरणा” दिने बताए । विपद् फोकल पर्सन पाण्डेले वृक्षारोपणले जलवायु संकट न्यूनीकरणमा ठोस सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमपछि चौताराको सरसफाइसमेत गरिएको छ । सहभागीहरूले इञ्जिनियर विष्टको समाजसेवा र नेतृत्व क्षमताको प्रशंसा गर्दै यस्ता सकारात्मक गतिविधि निरन्तर गर्न शुभकामना व्यक्त गरेका छन् ।इन्जिनियरिङ पृष्ठभूमिबाट आएका विष्टले व्यवसायिक सफलतालाई समाजसेवामा रूपान्तरण गर्दै आएका छन्। उनले विगतदेखि नै वातावरण, शिक्षा तथा सामाजिक सचेतनामा विशेष ध्यान दिँदै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ