कञ्चनपुर दक्षिणी क्षेत्रका ईटा उद्योगको अवस्थाबारे बुझ्न महासंघको टोलीद्वारा स्थलगत अनुगमन

बेलौरी, कञ्चनपुर, ०६ जेठ — नेपाल ईटा उद्योग महासंघका केन्द्रीय सचिव मदनराज पनेरु, सुदूरपश्चिम प्रदेश अध्यक्ष बलेदव सिंह बुडाल, प्रदेश कोषाध्यक्ष सुरज श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य जिवन जोशी तथा महाकाली ईटा व्यवसायी संघका अध्यक्ष कृष्ण तामाङ्ग सम्मिलित संयुक्त टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका ईटा उद्योगहरूको स्थलगत अनुगमन गरेको छ। पछिल्लो समय आर्थिक मन्दी, उत्पादन लागत वृद्धि र बजार अभावका कारण यस क्षेत्रका अधिकांश ईटा उद्योग धराशायी अवस्थामा पुगेको विषयलाई टोलीले गम्भीर रूपमा लिएको छ।

टोलीले बेलौरीदेखि पुनर्वाससम्मका विभिन्न ईटा उद्योगमा पुगेर सञ्चालकहरूसँग विस्तृत छलफल गरी राय–सुझाव सङ्कलन गरेको छ। भेटघाटका क्रममा ईटा उद्योगहरूले भोगिरहेका आर्थिक, प्राविधिक तथा बजारसम्बन्धी चुनौतीहरूको यथार्थ जानकारी लिँदै समाधानका लागि सम्भावित उपायबारे समेत गम्भीर विमर्श गरिएको थियो।

अनुगमन टोलीका सदस्यहरूले उद्योग सञ्चालकहरूलाई वर्तमान अवस्थाबाट उद्योगलाई पुनः सक्रिय र व्यावहारिक रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत पहल तथा सहजीकरणका विषयमा सुझाव मागेका थिए। उद्योग सञ्चालकहरूले उत्पादन लागत नियन्त्रण, बजार विस्तार र सरकारी नीतिगत सहुलियतका लागि आग्रह गर्दै उद्योग जोगाउन तत्काल विशेष पहल आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष बलेदव बुडालले एउटा ईटा उद्योग बन्द हुँदा झन्डै दुईदेखि तीन सय जना मजदुरको रोजगारी गुम्ने खतरा रहेको भन्दै स्थानीय अर्थतन्त्र नै जोखिममा पर्ने बताए। उनले भने, “यस क्षेत्रका उद्योगहरू बन्द हुने अवस्थामा पुगे भने त्यसको प्रभाव सम्पूर्ण स्थानीय अर्थतन्त्रमा पर्नेछ। तत्कालीन रूपमा नीतिगत र व्यवहारिक कदम चाल्न अत्यावश्यक भइसकेको छ।”

टोलीले भविष्यमा समेत ईटा उद्योगहरूको अवस्था सुधार्नका लागि नियमित अनुगमन, छलफल र समन्वय निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ