बेलौरीमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूको पालिका स्तरीय छलफल सम्पन्न।

केशव भट्टराई, जेठ १२। कञ्चनपुरको बेलौरीमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूको पालिका स्तरीय छलफल सम्पन्न भएको छ । कार्यक्रममा नगर क्षेत्र भित्रको शान्ति सुरक्षाको अवस्था, लागु औषध दुर्व्यसनी नियन्त्रणमा सुरक्षा निकाय र पालिकाको भूमिका लगायतका विषयमा छलफल भएको थियो। यस्तै सीमा क्षेत्रमा हुनसक्ने चोरी पैठारी तथा मानव बेचबिखन नियन्त्रणका विषयमा समेत छलफल भएको थियो ।

छलफल कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा प्रवक्ता हर्क बहादुर भुलले खेतीपातीको समय सुरु भएको बताउँदै, मलखादको सहज आपूर्तिका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै उहाँले लागू औषध प्रयोगकर्ताहरू बढ्दै गएको बताउँदै सो तर्फ सबै पक्ष चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सीमा क्षेत्रमा ओहोरदोहोर गरिरहेका विशेषगरी युवाहरूलाई विशेष नजर राख्नुपर्ने बताउनुभयो ।

यस्तै छलफलमा बोल्दै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले बेलौरीको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउनुभयो। यस्तै सीमा क्षेत्रबाट हुनसक्ने चोरी पैठारी नियन्त्रण र मानव बेचबिखन लगायतका विषयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सबै पक्षले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सम्पूर्ण पालिकाहरूको वस्तुगत स्थिति जानकारीका लागि आफू सबै पालिकाहरूमा पुगिरहेको बताउनुभयो ।

पालिकाहरूसँग सम्बन्धित समस्याहरू र ती समस्या समाधानका लागि आफू र आफ्नो मातहतबाट गर्नुपर्ने कामहरु गर्न कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गैरकानुनी काम गर्ने जो कोही भएपनि कानुनी कारबाहीको भागीदार रहने बताउनुभयो।

पालिका स्तरीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्री, सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कञ्चनपुरका प्रमुख नरेशबहादुर बम, सशस्त्र प्रहरी बल बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन केसी, बीओपी पचुईका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र पाल लगायतको उपस्थिति रहेको थियो। सुरक्षा निकायका विभिन्न तह र तप्काका प्रमुख, पत्रकार, स्थानीय बुद्धिजीवी, कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ