पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाको सीमा इलाकाबाट सशस्त्र प्रहरीको टोलीले एक लाख १५ हजारभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) पुनर्वासबाट खटिएको विशेष मोबाइल टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ६ ‘ङ’ स्थित २ नम्बर घाट सीमा इलाकामा सोमबार अवैध रूपमा सीमापार गराइरहेको सामग्री बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको ५ सदस्यीय टोलीले सीमा क्षेत्रमा उच्च निगरानी राख्ने क्रममा उक्त सफलता हात पारेको बीओपी पुनर्वासले जनाएको छ ।
प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा १ लाख ५ हजार रुपैयाँ बराबरको प्रतिबन्धित सुर्ती र सो ओसारपसारमा प्रयोग गरिएको साइकल नियन्त्रणमा लिएको हो । त्यसैगरी, सोही टोलीले नेपालको तर्फबाट अवैध रूपमा भारतीय बजार सप्लाइ गर्न लैजाँदै गरेको अवस्थामा १० हजार ४०० रुपैयाँ बराबरका ३ वटा बाख्रा समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका जम्मा १ लाख १५ हजार ४०० रुपैयाँ बराबरका सामग्री र चौपायालाई आवश्यक कानुनी कारबाहीका लागि कैलालीको त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।





