धनगढी, २ असार ।
सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री ट्राफिक प्रणालीको विकास र सडक सुरक्षाका समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यका साथ धनगढीमा आयोजित विशेष प्रादेशिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको संयुक्त आयोजनामा असार १ गते सुदूरपश्चिम प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३ धनगढीमा भव्यताका साथ सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ धनगढीको सभाहलमा आयोजित सो विशेष कार्यक्रमको समुद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले गर्नुभएको थियो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र बहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले सुदूरपश्चिम प्रदेशको समग्र ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था, चुनौती तथा आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म भएका सवारी दुर्घटनाको विस्तृत तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँले दुर्घटना न्यूनीकरणका लागि भएका सुधारका प्रयास र भावी योजनाबारे कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।

समीक्षा गोष्ठीमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सरोकारवाला निकायहरूको भूमिका र कानुनी कडाइबारे गहन छलफल भएको थियो । सहभागी वक्ताहरूले कानुन विपरीत सवारी चलाउने चालकहरूको अनुमतिपत्र निलम्बन गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनेहरूमाथि कडा चेकिङ गरिनुपर्ने र हराएका सवारी साधनहरूको खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । गोष्ठीमा सडक सुरक्षाका लागि ट्राफिक नियमको पूर्ण पालना र प्रविधिमैत्री चेकिङ प्रणालीको विकास अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाही, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्ट, यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशी, यातायात व्यवसायी तथा पत्रकार महासङ्घका प्रतिनिधिहरूले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सामूहिक प्रतिबद्धता र समन्वय आवश्यक रहेको बताउनुभयो । सो अवसरमा कञ्चनपुर र कैलालीका प्रहरी प्रमुखहरू, नागरिक समाज, यातायात मजदुर संघ सङ्गठनका प्रतिनिधि र सञ्चारकर्मीसहित १९० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यसैबीच, गोष्ठीको अवसर पारेर विगत २७ वर्षदेखि निरन्तर सार्वजनिक बस चलाउँदै आएका बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ९ घर भई हाल धनगढी बस्ने ४७ वर्षीय चालक प्रेमराज जोशीलाई उत्कृष्ट चालकका रूपमा सम्मानित गरिएको छ । आफ्नो लामो व्यावसायिक यात्रामा कुनै पनि सवारी दुर्घटना नगराएको र ट्राफिक कारबाहीमा समेत नपरेको भन्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले उहाँलाई कदरपत्रसहित सम्मान गरेको हो । यस्ता सम्मानले सडक अनुशासन पालना गर्न अन्य चालकहरूलाई पनि सकारात्मक प्रेरणा मिल्ने र प्रदेशको समग्र सडक सुरक्षामा दूरगामी प्रभाव पार्ने विश्वास लिइएको छ ।





