पुनर्वास, कञ्चनपुर।
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल भारत सीमा इलाकाबाट सशस्त्र प्रहरीको टोलीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। खुला सीमानाको फाइदा उठाउँदै लुकिछिपी ल्याइँदै गरेको उक्त प्रतिबन्धित सामग्रीलाई सीमा सुरक्षामा खटिएको पैदल गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
विशेष सूचना र नियमित सुरक्षा निगरानीका क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ‘घ’ गाउँ सीमा इलाकामा भारतबाट अवैध रूपमा सामान भित्रिइरहेको फेला परेको थियो। सशस्त्र प्रहरी बल, नेपाल बिओपी आँपतालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर तामाङको कमाण्डमा खटिएको ५ जनाको सीमा पैदल टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो। सुरक्षाकर्मीको टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले कसैलाई पनि नियन्त्रणमा लिन नसकिएको सुरक्षा स्रोतले जनाएको छ।
बरामद गरिएका सुर्तीजन्य पदार्थको अनुमानित बजार मूल्य ५६ हजार ३०० रुपैयाँ बराबर रहेको मुचुल्कामा उल्लेख छ।





