बेलौरी, कञ्चनपुर,असार १।
कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सोमबारदेखि सुरु भएको छ। विद्यालयका १५ जना छात्र र १५ जना छात्रा गरी ३० जना विद्यार्थी उक्त तालिममा सहभागी भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै श्री बराहदल गुल्म, भगतपुर ब्यारेकका सेनानी अशोक शाहीले अनुशासित, बफादार, नेतृत्वदायी, देशभक्त, आत्मविश्वासी तथा सक्षम नागरिक तयार पार्ने उद्देश्यले नेपाली सेनाले वि.सं. २०२२ सालदेखि एनसीसी तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार तालिममा सहभागी विद्यार्थीहरूलाई शारीरिक व्यायाम, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ लगायतका व्यावहारिक सीपहरू प्रदान गरिनेछ। तालिमको अवधि १०० दिन रहनेछ, जसमध्ये ७९ दिन विद्यालयमा तथा २१ दिन बाँकेको कोहलपुरमा सञ्चालन गरिनेछ।

नेपाली सेनाले एनसीसी तालिमलाई जुनियर र सिनियर गरी दुई डिभिजनमा सञ्चालन गर्दै आएको छ। कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि जुनियर डिभिजन तथा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि सिनियर डिभिजन तालिम सञ्चालन गरिन्छ। सिनियर डिभिजन अन्तर्गत विद्यार्थीहरूलाई हतियार सञ्चालन सम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिने व्यवस्था रहेको बताइएको छ।

उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशब सिंह बिष्टले एनसीसी तालिमले विद्यार्थीहरूको बानी–व्यवहार, अनुशासन, आचरण तथा नेतृत्व क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
यस वर्ष कञ्चनपुर जिल्लाका पाँच विद्यालयमा एनसीसी तालिम सञ्चालन भइरहेको छ। बेलौरीको उग्रतारा बाल विद्यालय, पुनर्वास नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय, लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालय तथा भीमदत्त नगरपालिकाका लिटिल स्टार पब्लिक माध्यमिक विद्यालय र सनराइज पब्लिक सेकेन्डरी स्कुलमा जुनियर डिभिजन तालिम सञ्चालन हुने जनाएको छ।
विद्यालयका प्रिन्सिपल केशब सिंह बिष्टको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी प्रमुख अतिथि तथा श्री बराहदल गुल्मका सेनानी अशोक शाही विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
राष्ट्रिय सेवा दलले युवा वर्गमा अनुशासन, इमान्दारिता, बफादारिता, राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ हरेक वर्ष देशभरका विद्यालयहरूमा जुनियर तथा सिनियर डिभिजनअन्तर्गत तालिम सञ्चालन गर्दै आएको छ।





