बेलौरी, जेठ १५। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विगत केही वर्षदेखि नागरिक उन्मुक्तिमा सक्रिय रानाले बुधबार औपचारिक रूपमा राजीनामा दिएका थिए।
राजीनामा पत्रमा उनले लेखेका छन्, “मैले राजनीतिक जीवन जहिल्यै पनि समुदाय, जनताको पक्षमा लड्दै संघर्ष गर्दै बिताएको छु। मैले इमान्दारितासाथ जनताको अधिकारका पक्षमा लड्दै आइरहेको छु।” तर पार्टी पछिल्लो समयमा स्थापना मूल मर्म “भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता” बाट विचलित हुँदै सत्तामुखी स्वार्थमा केन्द्रित भएको उनको आरोप छ।
रानाले पार्टीले सीमित पद, प्रतिष्ठा र लाभका लागि सामुदायिक मुद्दा र पहिचानको आत्मालाई पन्छाएको उल्लेख गरेका छन्। उनले पार्टीभित्र गहिरिँदो राजनीतिक इमान्दारिताको अभाव र सिद्धान्तविहीन क्रियाकलापलाई आलोचना गर्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
राजीनामा दिएलगत्तै बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई नेकपा माओवादी केन्द्रमा स्वागत गरे।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिका–८ बाट वडाध्यक्षमा निर्वाचित राना पछिल्लो संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत बनेका थिए। कञ्चनपुर जिल्लामा संगठित नेतृत्वदायी छविका रूपमा चिनिने रानाको आगमनले माओवादी केन्द्र सुदूरपश्चिममा अझ सशक्त हुने अपेक्षा गरिएको छ।





