सशस्त्र प्रहरीद्वारा अवैध सामानसहित घोडा र टाँगा नियन्त्रणमा, मदिरा नष्ट

कञ्चनपुर, ३१ जेठ ।

सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा झण्डै ८० हजार रुपैयाँ बराबरको बेवारिसे घोडा, टाँगा र मदिरा नियन्त्रणमा लिएको छ । बोर्डर आउट पोष्ट (बीओपी) डोकेबजारबाट खटिएको टोलीले सीमा क्षेत्रबाट उक्त अवैध सामग्री बरामद गरेको हो ।

गत जेठ २९ गते बेलुका करिब ५ बजे सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर बि.क.को कमाण्डमा खटिएको ५ सदस्यीय मोटरसाइकल गस्ती टोलीले उक्त अवैध सामान फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । गस्ती टोलीलाई देख्नासाथ तस्करहरू सामान छाडेर फरार भएपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको घोडा, टाँगा र १० पेटी ‘पलपल’ नामक मादक पदार्थ नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएका सामग्रीहरूमध्ये घोडा र टाँगालाई आवश्यक कानुनी कारबाहीका लागि आज कैलाली भन्सार कार्यालयमा बुझाइएको छ । यस्तै, बरामद गरिएको अवैध मादक पदार्थलाई भने स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ