कञ्चनपुरको सीमा क्षेत्रबाट लाखौँ मूल्यका अवैध सामानसहित स्कुटी बरामद, अवैध पेय पदार्थ नष्ट

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरिएका लाखौँ मूल्य बराबरका कपडा, गाडीका पार्टपुर्जाहरू र अवैध पेय पदार्थ सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ। सशस्त्र प्रहरी बलका विभिन्न इकाईहरूबाट खटिएका टोलीहरूले चौबिस घण्टाभित्र गरेका छुट्टाछुट्टै कारबाहीका क्रममा ती सामग्रीहरू नियन्त्रणमा लिइएका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर बेलौरी कञ्चनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको सात जनाको मोबाइल गस्ती टोलीले बेलौरी नगरपालिकाको सीमा इलाकामा विशेष कारबाही गरेको थियो। सो क्रममा भारतबाट गैरकानुनी रूपमा नेपाल ल्याइएको अनुमानित एक लाख बयालीस हजार नौ सय चालिस रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू र तस्करीमा प्रयोग गरिएको युपी ३१ बी ००१२७ नम्बरको एक थान भारतीय स्कुटी बरामद गरिएको छ। बरामद गरिएका कपडा र स्कुटीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाइएको सीमा सुरक्षा गुल्मले जनाएको छ।

यसैगरी, कञ्चनपुरकै पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित ‘घ’ गाउँ सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बीओपी आँपतालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर तामाङको कमाण्डमा खटिएको पाँच जनाको सीमा गस्ती टोलीले अर्को सफलता प्राप्त गरेको छ। टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको २२५ लिटर ‘ड्यु’ नामक पेय पदार्थ नियन्त्रणमा लिएको हो। बरामद गरिएको उक्त पेय पदार्थको बजार मूल्य २२ हजार ५ सय रुपैयाँ बराबर रहेको र त्यसलाई स्थानीय सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सीमा क्षेत्रमा निगरानी बढाउने क्रममै पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित डोकेबजार सीमा इलाकामा पनि सशस्त्र प्रहरीले बरामदगी गरेको छ। बीओपी डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर विकको नेतृत्वमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले अवैध रूपमा नेपाल भित्र्याइएका गाडीका पार्टपुर्जाहरू फेला पारेको हो। तीस हजार रुपैयाँ मूल्य बराबरका ती पार्टपुर्जाहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ