पुनर्वास (कञ्चनपुर)
२८ जेठ, कञ्चनपुर।
नेपाल भारत खुल्ला सीमानाको फाइदा उठाउँदै अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोइलर कुखुरा सशस्त्र प्रहरी बलको गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित घ गाउँ सीमा इलाकाबाट सशस्त्र प्रहरीले अवैध कुखुरा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) आँपतालबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बोहराको कमाण्डमा खटिएको पाँच जनाको सीमा गस्ती टोलीले उक्त अवैध वस्तु बरामद गरेको हो। भारतबाट लुकिछिपी नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा फेला पारिएको सो कुखुराको परिमाण १०५ केजी रहेको र यसको अनुमानित बजार मूल्य ३१ हजार ५०० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका ती प्रतिबन्धित ब्रोइलर कुखुरालाई आवश्यक कानुनी प्रक्रिया र मुचुल्का तयार गरी सोही दिन बीओपीको पेरिमिटर भित्रै खाल्डो खनेर सुरक्षित रूपमा नष्ट गरिएको छ।





