पुनर्वास, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका ११ डोकेबजार इलाकाबाट सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध रूपमा भन्सार छली भित्र्याइएका कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी डोकेबजारबाट खटिएको पैदल गस्ती टोलीले विना कागजात गैरकानुनी रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ती चल्लाहरू नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर बीकको कमाण्डमा खटिएको ५ जनाको पैदल गस्ती टोलीले जेठ २८ गते बिहान करिब ८ बजेको समयमा उक्त चल्लाहरू बरामद गरेको बीओपी डोकेबजारले जनाएको छ । बरामद गरिएका कुखुराका चल्लाहरूको बिल बिजक लगायतका कुनै पनि कानुनी कागजात नभएको र तिनको अनुमानित बजार मूल्य २० हजार रुपैयाँ बराबर रहेको प्रहरीले उल्लेख गरेको छ । सीमा नाकामा सुरक्षा तथा निगरानी तीव्र पारिएकै कारण उक्त अवैध सामग्री पक्रन सफल भएको सुरक्षा स्रोतको भनाइ छ ।
नियन्त्रणमा लिइएका चल्लाहरूलाई कानुनी प्रक्रिया पूरा गरी सोही दिन बिहान करिब ९ बजे पशु क्वारेन्टाइन चेकपोष्ट धनगढी, कैलालीका पशु स्वास्थ्य प्राविधिक सविता बमको रोहवरमा बीओपी डोकेबजारको पेरिमिटर (परिसर) भित्र खाल्डो खनेर नष्ट गरिएको छ ।





