रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति चन्दको सभापति पदमा उम्मेदवारी

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी विभाग सुदूरपश्चिम प्रदेशका संस्थापक सभापति नरेन्द्र बहादुर चन्द ले प्रथम प्रदेश अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

“नयाँ सोच, नयाँ नेतृत्व, अब सुदूरपश्चिमको समृद्धि हाम्रो जिम्मेवारी” भन्ने नारासहित उम्मेदवारी सार्वजनिक गरेका चन्दले सुशासन, पारदर्शिता, संगठन सुदृढीकरण, युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

उनले सार्वजनिक गरेको १२ बुँदे प्रतिबद्धतामा डिजिटल सुदूरपश्चिम निर्माण, महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणलाई समेत प्राथमिकता दिइएको छ। संस्थापक सभापतिको रूपमा संगठन निर्माण र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चन्दले अनुभव, क्षमता र समर्पणका आधारमा पुनः नेतृत्वको जिम्मेवारी लिन चाहेको बताएका छन्।

इमानदारी, जनउत्तरदायित्व, समावेशी नेतृत्व र परिणाममुखी कार्यशैलीलाई आफ्नो मूल आधार रहेको उल्लेख गर्दै चन्दले अधिवेशन प्रतिनिधिहरूसँग समर्थनको अपिल गरेका छन्। उनले सुदूरपश्चिमको समृद्धि, सुशासन र आत्मनिर्भरताका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

रास्वपा सहकारी विभाग सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ। सभापति पदमा चन्दको उम्मेदवारीले अधिवेशनको माहोललाई थप रोचक बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ