संघीय बजेटमा महाकाली कोरिडोर बेवास्ता, सांसद विकको आक्रोश

धनगढी, जेठ १६।  सुदूरपश्चिम प्रदेशकी सांसद तथा पूर्व मन्त्री लक्ष्मी विकले संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा महाकाली कोरिडोरजस्तो रणनीतिक र विकासका दृष्टिले अत्यन्त महत्वपूर्ण परियोजनालाई बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाएकी छन्।

उनले भनिन्, “देशका अन्य कोरिडोरहरूमा अर्बौं रुपैयाँ छुट्याइएको छ, तर सीमावर्ती र सामरिक हिसाबले अति संवेदनशील महाकाली कोरिडोरलाई कुनै रकम नतोकिनु दु:खद र आपत्तिजनक छ “

सांसद विकका अनुसार, महाकाली कोरिडोर न केवल यातायातको सञ्जाल विस्तार, तर राष्ट्रिय सुरक्षा, कूटनीतिक सन्तुलन र सीमान्त क्षेत्रको समावेशी विकासका लागि अपरिहार्य छ। उनले संघीय सरकारलाई कोरिडोर निर्माणका लागि आवश्यक बजेट तुरुन्त व्यवस्था गर्न आग्रह गरेकी छन्।

विकले स्मरण गराइन्, “महाकाली कोरिडोरको सुरुवात २०६५ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भएको हो। सीमान्त क्षेत्रको विकासका लागि मेरुदण्ड मानिएको यस सडकलाई अहिले बजेटमा निरन्तर उपेक्षा गर्नु गठबन्धन सरकारको ठूलो कमजोरी हो,” उनले भनिन्।

उनका अनुसार, “अरु प्रदेशका कोरिडोरमा रकम विनियोजन हुँदै बजेट आएको छ तर सुदूरपश्चिमको रणनीतिक आवश्यकता उपेक्षा हुनु राज्यकै कमजोरी हो।”

स्थानीय जनताले पनि कोरिडोर निर्माणमा ढिलाइ हुँदा रोजगारी, बजार पहुँच, स्वास्थ्य सेवा र सुरक्षा क्षेत्रमा प्रत्यक्ष असर परेको गुनासो गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ