जेठ १९, बेलौरी। कञ्चनपुरको बेलौरी नगरपालिकामा गरिब तथा विपन्न कृषक समूहका सदस्यहरूलाई लक्षित गरी बाख्रा वितरण गरिएको छ। आइतबार बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ का कृषक समूहका सदस्यहरूलाई जर्मन संस्थाको आर्थिक सहयोग तथा निड्स नेपालद्वारा आयोजित कार्यक्रममा ४२ वटा बाख्रा र बोका वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरप्रमुख पोतीलाल चौधरीले बाख्रा वितरण कार्यक्रमले विपन्न परिवारलाई आत्मनिर्भर बनाउने र आयआर्जनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख चौधरीले बाख्रापालन दीगो आयआर्जनको प्रमुख आधार बन्न सक्ने भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।
स्थानीय कृषकहरू समेतले बाख्रा वितरणले गाउँमै रोजगारी र आम्दानी बढाउने अवसर प्रदान गरेको प्रतिक्रिया दिएका छन्।






