सुरज श्रेष्ठ, जेठ १९, बेलौरी। यस वर्षको मनसुनमा असाधारण वर्षा हुने प्रक्षेपण सँगै बेलौरी नगरपालिकामा सम्भावित बाढी र डुबान जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको संयुक्त छलफल भएको छ। नगरप्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा बसेको उक्त छलफलमा उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, शसस्त्र प्रहरी नायब उपरीक्षक मोहन केसी, इलाका प्रहरी कार्यालय प्रमुख भास्कर चन्द, विभिन्न सुरक्षा इन्चार्ज र पालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
छलफलमा मौजुदा राहत सामग्रीको सूची तत्काल अद्यावधिक गर्ने, विपद् व्यवस्थापनलाई चुस्त बनाउन स्वयंसेवकलाई उद्धार सम्बन्धी आधारभूत तालिम दिने, तथा जोखिमयुक्त वडाहरूमा जनचेतना अभिवृद्धि गर्ने विषयमा चर्चा भएको विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिए। ईलाका प्रहरी कार्यलय बेलौरीले १५ सदस्यीय विपद् व्यवस्थापन टोली गठन गरिसकेको जानकारी दिएको छ भने शसस्त्र प्रहरी बलले वडा–वडा सूचक समिति बनाउने, र विशेष जोखिममा रहेका वडा नम्बर २, ५, ६, ८ र १० मा माइकिङमार्फत जनचेतना फैलाउने तयारी गरेको छ।
नगरपालिकाको एकमात्र रबर बोट मर्मत गरी तयारी अवस्थामा राख्ने र आवश्यकता परे शोभातालका डुङ्गा उद्धार कार्यमा प्रयोग गर्ने विषयमा पनि छलफल भएको छ। आगामी दिनमा सूचना प्रवाह, उद्धार र राहत व्यवस्थापनलाई थप चुस्त बनाउने तयारी रहेको जानकारी बेलौरी नगरपालिकका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले दिएका छन्।






