बेलौरीको बन्दातालमा आधुनिक पर्यटकीय पूर्वाधारको शिलान्यास सम्पन्न

बेलौरी, कञ्चनपुर – २७ जेठ। बेलौरी नगरपालिका–१ र २ मा पर्ने बन्दाताललाई आधुनिक पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न ५ करोड ४३ लाख ११ हजार २२२ रुपैयाँको लागतमा सुरु भएको परियोजनाको आज औपचारिक सिलान्यास गरियो। नगरपालिकाले आ.व. २०८१/८२ मा दाउत निर्माण सेवा (DNS) र भुमिराज कन्सट्रक्सन (BRC) सँग संयुक्त सम्झौता गरेको हो ।

दुई वर्षभित्र, २०८३ असार मसान्तसम्म काम सक्ने लक्ष्य भए पनि निर्माण व्यवसायी दाउत तामाङले निर्धारित म्यादअघि नै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। हाल आरसीसी संरचना, पर्खाल तथा माटो भरानको काम तिव्र गतिमा अघि बढेको नगर इन्जिनियर जगदिश जोशीले बताए। उनका अनुसार योजना २०७९/८० मै प्रस्तावित थियो । विस्तृत परियोजना प्रतिवेदन (DPR) ले कुल लागत २७ करोड रुपैयाँ अनुमान गरेको छ, जसकाे थप बजेट संघ र प्रदेश सरकारबाट जुटाउने नगरपालिकाको योजना छ ।

नगरप्रमुख पोतिलाल चौधरीले बन्दाताललाई “नगरको गौरव” संज्ञा दिँदै यसले सीमावर्ती पर्यटक भित्र्याएर स्थानीय बासिन्दाको आम्दानी र रोजगारीमा प्रत्यक्ष टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। “यो प्राकृतिक धरोहर हो,” चौधरीले भने, “बन्दातालको विकासले बेलौरीको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेछ, त्यसका लागि थप बजेटको माग गर्न संघ र प्रदेश सरकारसमक्ष पहल गरिरहेका छौँ।”

सिलान्यास समारोहमा प्रमुख प्रशासकीय अधिकृतदेखि वडा अध्यक्षहरू, प्राविधिक टोली र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । परियोजनाले सफलतापूर्वक आकार लिंदा बेलौरी र सीमावर्ती क्षेत्रको पर्यटन र व्यापारमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ