मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया रोग सम्बन्धि पैरवी कार्यक्रम अभियान अन्र्तगत आज बेलौरी नगरपालिका वडा नं ६ स्थित महाकाली माध्यमिक विद्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
वडा अध्यक्ष भोजराज चौधरीको अध्यक्षतामा आयोजित सो पैरवी कार्यक्रममा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख लगायत महिला स्वास्थय स्वयंसेविका, स्वास्थ्यकर्मी, भलमन्सा, महिला समुह प्रतिनिधि, विद्यालय प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

पैरवी कार्यक्रमका सहजकर्ता गणेश भण्डारीले सिकलसेग रोग वंशानुगत रोग भएको र जिनमा हुने खराबीले गर्दा शरीरमा हुने रातो रक्तकोष सामान्य अवस्थामा गोलो हुनुपर्नेमा हसिया आकारको हुने बताए । हालसम्म आउदा विशेषगरि नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोग देखिएको पाईएकाले थारु समुदायमा मात्रै यो रोग लाग्छ भन्ने बुझाई राख्न भने नहुने उनको तर्क थियो । उनले भने, ‟यो नेपाल मात्र नभई अन्य देशहरु जस्तै भारत, अफ्रिकाको नाईजेरिया जस्ता ठाउँहरुमा एकदमै ठुलो जनस्वास्थ्य समस्याको रुपमा छ ।”
उनका अनुसार विभिन्न अध्ययन तथा सिद्धान्तले थारु समुदाय तराईमा बसोबास गर्ने कारण मलेरियाको शिकार हुदै गर्दा आदिकालमा उनीहरु शिक्षा तथा स्वास्थ्य लगायत सुविधाहरुबाट पनि वञ्चित रहेको अवस्थामा स्वास्थ्य जाच गराउनुपर्ने महत्वबारे अनभिज्ञ रहदै गर्दा उनीहरुमा बिस्तारै सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग देखा पर्न गएको हो भन्ने भएतापनि यकिन आधिकारिक तथ्य भने नरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका औँलो निरिक्षक सिद्धराज भट्टले विशेषगरि थारु समुदायमा देखिने यो रोगको जोखिम न्युनीकरण गर्नको लागि भनेरै पैरवी कार्यक्रम लगायत सिकलसेल एनिमियाको रगत जाँचका लागि स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।
उनका अनुसार जिल्लाभर हालसम्म सिकलसेल एनिमियाको परिक्षण गरिएकोमा औसत १५–१६% का हिसाबले थारु समुदाय विशेष जोखिमयुक्त रहेको जानकारी दिए । उनले भने, ‟पूर्ण रुपमा यो रोग निवारण गर्न नसकिएपनि निदान गरेर थप हुने स्वास्थ्य समस्या भने कम गर्न सकिन्छ । त्यसकारण पनि यसको जाँच गर्न जरुरी छ ।” उनले थप्दै भने, ‟पुर्वी समाजमा विहे गर्नुभन्दा पहिला जन्मकुण्डली देखाउने गरिन्छ, ठिक त्यसरी नै यो समुदायमा पनि विवाह गर्न लागेका युवायुवतीले आफूमा सिकलसेल एनिमिया भए नभएको रगत जाँच गरि थाहा पाईसकेपछि सिकलसेल⁄थालेसिमिया कुण्डली मिलाएर मात्रै त्यहाँ भनिएअनुसार बिहेवारी गर्दा भविष्यमा जन्मिने सन्तानमा यो रोग सर्ने जोखिम कम हुन्छ ।”
कार्यक्रममा अध्यक्षताका रुपमा रहेका बेलौरी नगरपालिका वडा नं ६ का अध्यक्ष भोजराज चौधरीले कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्दै असार ६ गते महाकाली माध्यमिक विद्यालयमा वडास्तरीय सिकलसेल एनिमिया रगत परिक्षण गरिने भएकाले उपस्थित सरोकारवालाहरुमा सन्देश प्रवाह गर्न अनुरोध गरे ।






