बेलौरी, कञ्चनपुर, असार ८।
बेलौरी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट विवादमा दुई विपरीत दाबीहरू सतहमा आएका छन्। नगरपालिकाका प्रवक्ता हर्क बहादुर भुलले बजेटमाथि पर्याप्त छलफल भएको र सर्वसम्मतिमा पारित गरिएको दाबी गरेका छन्। तर, यसको ठीक विपरीत नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. ७ का अध्यक्ष प्रकाश श्रेष्ठ र वडा नं. ९ का अध्यक्ष किसन सिंह राना लगायत ७ जना सदस्यले बहुमतको बलमा विधि र प्रक्रिया मिचेर बजेट पारित गरिएको गम्भीर आरोप लगाएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले भने, “हामीले कार्यपालिका बैठकदेखि नै ‘डल्लो बजेट’ नभई, हरेक योजनालाई शीर्षकगत रूपमा स्पष्ट पारेर मात्र नगर सभामा पेश गर्नुपर्छ भन्ने अडान राखेका थियौं। तर हाम्रो कुरा सुनुवाई भएन।”
उनका अनुसार, स्रोत अनुमान समितिले एकमुष्ट बजेटलाई योजनाहरूमा विस्तृत विनियोजन गरेर मात्र सभामा पेश गर्नुपर्नेमा त्यसो नगरी सिधै पारित गर्ने प्रक्रिया अपनाइएको थियो, जुन विधि सम्मत छैन। यसले नगर सभा सदस्यहरूको अधिकार कुण्ठित भएको र ‘डल्लो बजेट’ व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन सक्ने शंका बढाएको उनको भनाइ छ।
“आज असार ८ गते सबै वडाहरूले शीर्षक सहित नै बजेट ल्याएका थिए। यदि समय अभाव थियो भने उद्घाटन सत्र गरेर २-४ दिन छलफलका लागि समय लिन सकिन्थ्यो। विगतमा २०७५/७६ सालतिर पनि ४ दिनपछि बजेट पारित गरेको अभ्यास छ,” श्रेष्ठले भने, “हाम्रो यो अनुरोधलाई समेत बेवास्ता गर्दै बहुमतको बलमा पास गरियो। यो समग्र बेलौरी नगरपालिकाको हितमा छैन। कानुन सबैले मान्नुपर्छ, मिच्न पाइँदैन।”
यो कदमले असमझदारी बढाउने र भोलि बजेट सही तरिकाले विनियोजन नहुँदा जनताको हित विपरीत काम हुन सक्नेमा असन्तुष्ट पक्षले चिन्ता व्यक्त गरेको छ। यो अभ्यास स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७८ ले निर्दिष्ट गरेको कानुनी व्यवस्थासँगको ठाडो टक्कर हुने जानकारहरु बताउछन्। कानुनले ७-चरणको विस्तृत योजना प्रक्रिया अनिवार्य गरेको छ, जसमा बस्ती तहबाट योजना छनोट हुँदै, वडाबाट प्राथमिकता निर्धारण भई, शीर्षकगत रूपमा कार्यपालिकाबाट स्वीकृत भएर मात्र नगर सभामा पेश हुनुपर्ने स्पष्ट व्यवस्था छ । ‘डल्लो बजेट’ ले यो सम्पूर्ण सहभागितामूलक र पारदर्शी प्रक्रियालाई ‘बाइपास’ गर्दछ। यसले सभालाई अधिकारविहीन बनाउँछ किनकि सभाले केमा खर्च गर्ने भनेर थाहै नपाई बजेट स्वीकृत गर्न बाध्य हुन्छ, जुन बेलौरीको विवादमा असन्तुष्ट पक्षले उठाएको मुख्य सवाल हो।
यद्यपि, असन्तुष्ट पक्षको आरोपलाई खण्डन गर्दै नगरपालिकाका प्रवक्ता हर्क बहादुर भुलले बजेट सर्वसम्मत रूपमा पारित भएको दाबी गरेका छन्। उनले बजेटमाथि पर्याप्त छलफल भएको र सबैको सहमतिमै पारित गरिएको सञ्चारमाध्यमलाई बताएका छन्।
एक पक्षले बहुमतको बलमा विधि मिचिएको आरोप लगाउने र अर्को पक्षले सर्वसम्मत भएको दाबी गर्दा बेलौरी नगरपालिकाको बजेट विवाद सतहमा आएको छ। यो असमझदारीले आगामी दिनमा नगरपालिकाको विकास निर्माण र राजनीतिक सहकार्यमा कस्तो असर पार्ला भन्नेमा स्थानीय स्तरमा चासो बढेको छ।





