१०असार, धनगढी। एशियाकै सबैभन्दा अग्लो १०८ फिटको शिवलिङ्ग रहेको नेपाल–भारत सिमानास्थित शिवपुरीधाममा यही असार २१ गते (जुलाई ६) देखि भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।मंगलबार भारतको लखिमपुर जिल्लाको पलिया नगरमा पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमबारे जानकारी गराइएको छ।

कार्यक्रमको संयोजन भारतीय जनता पार्टी (भाजपा) का नेता रवि गुप्ताले गरिरहेका छन्। पत्रकार सम्मेलनमा नेपाल तथा भारतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपालबाट वरिष्ठ उद्योगपति शुभ ठाकुर, धनगढीका पूर्व नगरप्रमुख नृप ओड, कार्यक्रमका संकल्पकर्ता पण्डित सत्यराज अवस्थी, तथा बेहडा बाबा मन्दिर ट्रस्टका पूर्व अध्यक्ष पद्मराज जोशीको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूलाई आयोजक मण्डलीले भगवान पशुपतिनाथको रुद्राक्ष माला पहिराइ सम्मान गरेका थिए भने अतिथिहरूलाई अंगवस्त्र ओढाइ सत्कार गरिएको थियो।
भाजपा नेता गुप्ताले शिवपुरीधामलाई धर्म, संस्कृति र सनातन परम्पराको प्रतीक बताउँदै भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालु सहभागी हुने विश्वास व्यक्त गरे। उनले भारतका श्रद्धालुहरूका लागि सुरक्षा, बास र भोजनको विशेष व्यवस्था गरिएको जानकारी पनि दिए। आयोजकहरूका अनुसार शिवपुरीधाममा रहेको १०८ फिट अग्लो शिवलिङ्ग एशियाकै सर्वोच्च शिवलिङ्ग हो। यसलाई धार्मिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको बताइएको छ।





