मीरा श्रेष्ठ,
आज असार १५ गते देशभर राष्ट्र्यि धान दिवस मनाउदै गर्दा कञ्चनपुरको बेलौरीमा बेलौरी नगरपालिका अन्तर्गत कृषि शाखाले २२ औँ राष्ट्र्यि धान दिवस मनाएको छ । कृषक समन्वय समितिको सहकार्यमा आयोजित धान दिवस कार्यक्रम कृषि शाखाले बेलौरी नगरपालिका वडा नं ५, मैनाहामा सम्पन्न गरेकाे हो ।

‛धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता’ राष्ट्र्यि नारा सहित कृषि शाखाले आयोजना गरेको आजको कार्यक्रममा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरी, उप प्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरि लगायत वडा नं ५ का वडाअध्यक्ष लाल बहादुर चौधरी, वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र वडा नं ८ का वडाअध्यक्ष विष राम राना तथा वडा सदस्यहरु, कार्यपालिका सदस्य तथा कृषकवर्ग लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।
कार्यक्रमको सभापतिका रुपमा रहेका बेलौरी नगरपालिका कृषि शाखा प्रमुख सुमन राज जोशीले २०६२ असार १५ गते देखि सरकारले किसानको पर्वको रुपमा रहने गरि किसानको श्रमको सम्मान गर्ने उद्धेश्यले धान दिवस मनाउदै आएको बताए । उनले भने, ‟विशेषगरि असार १५ दही च्युरा खाने दिन भनेर पनि बुझिन्छ । दही च्युरा खानुको अर्थ भनेको थकित किसानको शरीरलाई शितलता प्रदान गरोस् भन्ने हो ।” उनले थप भने, ‟तपाई हामी जुन तहतप्का पदमा भएपनि यदि किसान छैन भने जीवन सम्भव होला जस्तो लाग्दैन । किनभन्दा किसान भनेको अन्नदाता हो । सबैले बाच्ने भनेकै भातरोटि खाएर हो । त्यसैले सबैले किसानलाई सम्मान गर्न, किसानको श्रमलाई सम्मान गर्न सिक्नपर्छ ।”
त्यसैगरि उप प्रमुख जोगराम चौधरीले धान दिवसको शुभकामना व्यक्त गर्दै समग्र देश कृषि प्रधान भएको र बेलौरी नगरपालिका पनि कृषिको दृष्टिकोणले कृषि हव भएको जिकिर गरे । ‟हामी कृषिमा थुप्रै कार्यक्रमहरु गर्दै आएका छौँ बेलौरी नगरपालिकाको तर्फबाट । चाहे कृषि यान्त्रिकिकरण होस् अथवा बीउबिजनको लागि होस्, विषादी होस्, मलखाद होस् अथवा हामी थुप्रै तालीम गोष्ठि गर्दै आएका छौँ”, उनको जिकिर थियो । यद्यपि, सम्पूर्ण कृषकवर्गमा भने सहयोग गरिएका कृषि यन्त्र तथा कार्यक्रमहरु पुग्न नसकेको हुनसक्ने सम्भावनालाई स्वीकार्दै नगरपालिकाले वडागत रुपमा विभिन्न कृषि कार्यक्रमका योजनाहरु राखिएकोमा सबै किसानलाई कृषक समूह मार्फत् लाभान्वित गराउने उनले आश्वासन दिलाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोतीलाल चौधरीले कञ्चनपुर जिल्ला भित्र कृषिको क्षेत्रमा सबैभन्दा बढि बजेट छुट्याउने स्थानीय तहको रुपमा बेलौरी नगरपालिका भएको दाबी गरे । देशको मूलधार कृषि भएको अवस्थामा कृषकहरुको हकहितको निमित्त अन्य क्षेत्रका लागि जस्ते डेलिगेसन आउनपर्ने उनको जोड थियो ।

पालिकाभित्र साढे तीन सय भन्दा बढि कृषि समुह रहेको अवस्थामा प्रत्येक घरपरिवारलाई कृषि समन्वय समितिसँग जोड्ने नीति लिएको व्यक्त गरे । ‟किसानहरुले कृषि औजार, कृषि अनुदानहरु, कृषिको बीउहरु पाएन भन्नुभन्दा पनि वडाको कृषि समन्वय समितीमा व्यापक छलफल गर्नुस् र त्यति भन्दाभन्दै पनि यदि छुट्नुभएको छ भने कृषि शाखासँग सम्पर्क गर्न सक्नुहुन्छ । उनले थप जोड दिदै भने, ‟बोरिङ्ग र एउटा ईन्जिनको निमित्त बेलौरी नगरपालिकामा एउटा किसानले, समुहले भन्यो भने बेलौरी नगरपालिकाले तुरुन्त उपलब्ध गराउन सक्छ तर त्यो उहाँको समस्या वास्तविक रुपमा यथार्थमा चाहिएको हुनुपर्यो ।”

यस वर्षको धान दिवस मनाउदै गर्दा समयमै मनसुन सुरु भएको कारण देशभर धान उत्पादन राम्रो हुने कृषि विज्ञहरुको अनुमान छ ।





