मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ ले आज अर्थात् असार २० गते बाट वृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।

“भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौँ ” भन्ने मुल नाराको साथ सुरु भएको यस अभियानमा ७ नं वडाले वडाको युवा सञ्जालसँगको समन्वयमा यो अभियान सुरु गरेको हो ।
असार २० गते बाट सुरु भई २२ गतेसम्म तीन दिन चल्ने यस अभियानमा करिब दुई हजार फुलका बेर्ना सडक छेउछाउ सार्ने लक्ष्य रहेको वडा अध्यक्ष प्रकाश श्रेष्ठको भनाई छ । उनले यस किसिमको वृहत अभियान पालिकाभरमै पहिलो पटक वडा नं ७ ले सुरुवात गरेको बताएका छन् । ‟यो बेलौरी नगरपालिकाको नौलो कार्यक्रम पनि हो । अहिलेसम्म बेलौरी नगरपालिकामा यस किसिमको बाटोको दुवैतर्फ फुल लगाउने कार्यक्रम अन्य कार्यक्रममा पनि हुदै जाला र सुरुवात हाम्रो बेलौरी नगरपालिका वडा नं ७ ले गरेको छ”, अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले वृक्षारोपण कार्यक्रम प्रशंसनीय पहल रहेको भन्दै सबै वडामा यस किसिमको कार्यक्रम विस्तार गरिने योजना रहेको जिकिर गरेका छन् । उहाँले भन्नुभयो, ‟बेलौरी नगरपालिकालाई हराभरा बनाउने उद्धेश्यका साथ वाड नं ७ बाट यो कार्यक्रम सुरु गरेका छौँ र बिस्तारै सबै वडामा हामीले चाहि यो कार्यक्रम लागु गर्नेछौँ ।” उहाँले थप्दै भन्नुभयो, ‟वन डिभिजन कार्यालयमा नर्सरी जो छ, सबै ठाउँमा चाँहि उपलब्ध गराउनुपर्ने भएकाले सबै वडालाई अहिले तत्काल उपलब्ध गराउन नसक्ने भएकाले अहिले वडा नं ७ मा सुरु गरेका छौँ र हामीले सिद्धकेदार आधारभुतमा पनि सुरु गर्या छौँ र अर्को लक्ष्मी मा.वि. जवदियामा पनि हामीले यो कार्यक्रम सुरु गर्या छौँ ।”
त्यसैगरी बेलौरी वडा नं ७ युवा सञ्जालका अध्यक्ष सन्देश चौधरीले वातावरण प्रदूषण कम गर्न तथा वातावरणको सौन्दर्यता वृद्धि गर्नको लागि सो अभियान गरिएको जानकारी दिएका छन् । ‟नगर र मानवीय विकास तीव्र भईरहेको हुँदा वातावरण प्रदुषण बढ्दै गएकाले प्रदुषणलाई न्युनीकरण गर्नको लागि, सँगसँगै हाम्रो गाउँको सौन्दर्य रहोस्, सौन्दर्य छाओस् भनेर हामीहरु यो सिंहपुर टोलको मेन रोडको छेउछाउतिर वृक्षारोपण गर्दैछौँ”, चौधरीको भनाई थियो ।
स्थानीयवासी, बेलौरी नगर युवा सञ्जाल वडा नं ७ टिम, महाकाली बहुमुखी क्याम्पस अध्यक्ष हरेन्द्र सिंह विष्ट, सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादव, राष्ट्र्यि स्वतन्त्र पार्टी नगर सदस्य चेतनाथ दाहाल, बेलौरी नगरपालिका विपद् फोकल पर्सन अशोक पाण्डे, बेलौरी नगरपालिका वडा नं ५ का अध्यक्ष लाल बहादुर चौधरी, वडा नं ६ का अध्यक्ष भोजराज चौधरी तथा बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

तीन दिनसम्म चल्ने यस अभियानमा ज्याकाराण्डा, गुल्मोहर, राजवृक्ष, शीतलचिनी जस्ता बहुगुणी बिरुवा लगाईने बेलौरी वडा नं ७ का अध्यक्ष प्रकाश श्रेष्ठको भनाई छ ।






