असार २३,बेलौरी। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको नव-प्रवर्तनिय कार्य ‘ट्र्याक्टर बहस कार्यक्रम’ बेलौरीमा सम्पन्न भएको छ। सोमवार इलाका प्रहरी कार्यालय, बेलौरीको आयोजनामा भएको कार्यक्रममा करीब १ सय ५० जना सहभागी भएका थिए।
सहभागीहरूमा स्थानीय ट्र्याक्टर चालक, किसान, ट्राफिक सुरक्षासँग सरोकार राख्ने नागरिक, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री कुलविर चौधरीको विशेष उपस्थिति रहेको थियो। उनले स्थानीय यातायातको सुरक्षामा ट्र्याक्टर बहसजस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, निरीक्षक भास्कर चन्दले ट्राफिक नियमबारे विस्तृत जानकारी दिएका थिए। उनले ट्र्याक्टर चलाउँदा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतहरूको अर्थ, चालक अनुमतिपत्रको आवश्यकता, ट्र्याक्टर दर्ता तथा बीमा जस्ता कानूनी पक्षका बारेमा जानकारी गराए। साथै, सहभागीहरूले राखेका प्रश्नहरूको पनि जवाफ दिँदै व्यवहारिक उदाहरणका माध्यमबाट स्पष्ट पार्ने प्रयास गरेका थिए। कार्यक्रममा सहभागीहरूले ट्र्याक्टर चलाउँदा सवारी अनुमतिपत्र नहुँदा भोग्नुपरेको कठिनाइ, ट्राफिक जाँचमा हुने व्यवहार, ट्र्याक्टर दर्ता प्रक्रियामा देखिएका समस्या लगायतका विषयमा प्रश्न उठाएका थिए।

यस्ता कार्यक्रमले सडक सुरक्षा सुदृढ गर्न र ट्राफिक नियमप्रति सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको धारणा थियो। प्रहरी प्रशासनको यो प्रयासले समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध सुदृढ गर्ने मात्र होइन, स्थानिय स्तरमा ट्राफिक व्यवस्थापनलाई सरल र सुरक्षित बनाउने दिशामा सार्थक कदम भएको भन्दै सहभागीहरूले कार्यक्रमको प्रशंसा गरेका थिए।





