सुरज श्रेष्ठ, श्रावण ०६। सुदूरपश्चिम प्रदेश सरकारले २०८२ को आफ्नो वार्षिक बिदाको सूचीमा थारु समुदायको महत्त्वपूर्ण पर्व अटवारीको सार्वजनिक बिदाको मिति श्रावण २५ गते राखेपछि उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ । थारु समुदायका विभिन्न संघसंस्थाहरुको व्यापक ध्यानाकर्षणपछि प्रदेश सरकारले उक्त मिति सच्याउने प्रक्रिया अगाडि बढाएको हो ।
विवादको केन्द्रमा रहेको मिति सच्याउने विषयमा सरकारी पक्षबाट सकारात्मक प्रतिक्रिया आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी दिपेन्द्र सिंह विष्टले विभिन्न संघसंस्थाहरुबाट आएको अनुरोधलाई स्वीकार गर्दै बिदा संशोधनको तयारी भइरहेको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार, प्रदेश राजपत्रमा प्रकाशित श्रावण २५ गतेको बिदालाई सच्याएर थारु समुदायको परम्पराअनुसार भदौ ८ गते नै कायम गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।
पृष्ठभूमिमा, सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो राजपत्रमा २०८२ सालको अटवारी पर्वको बिदा श्रावण २५ गते आइतबारका दिन दिने सूचना प्रकाशित गरेको थियो ।

तर, थारु समुदायको सांस्कृतिक मान्यताअनुसार यो पर्व कृष्ण जन्माष्टमीपछिको शुक्ल पक्षको पहिलो आइतबार मनाइने भएकाले यस वर्ष भदौ ८ गते पर्न जान्छ । यही तथ्यलाई आधार बनाउँदै कञ्चनपुरको बेलौरी नगर भलमन्सा समिति लगायतका संस्थाहरूले औपचारिक रूपमै मिति सच्याउन माग गरेका थिए ।

विज्ञप्तिमा थारु समुदायको परम्परालाई उद्धृत गर्दै भनिएको छ, “थारु समुदायमा मनाइने अटवारी पर्व श्री कृष्ण जन्माष्टमी पछि पर्ने शुक्लपक्षको पहिलो आइतबारको दिन मनाइने हुँदा प्रदेश सरकारले दिएको सार्वजनिक विदा साउन २५ गते आइतबारका दिन नभई भदौ ८ गते आइतबारका दिन अटवारी पर्वको सार्वजनिक विदा कायम गरिदिन हुन यसै विज्ञप्ति मार्फत प्रदेश सरकारसँग अनुरोध गर्दछौं । ”





