सामाजिक सुरक्षा कोषको भत्ता बुझ्दा वृद्धवृद्धालाई सास्ती : जिम्मेवार को ?

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा अहिले आर्थिक वर्ष २०८१⁄०८२ को लागि सामाजिक सुरक्षा भत्ता कोष अन्र्तगतको अन्तिम किस्ता वितरण भईरहेको छ । यो सँगै बैँकहरुमा भत्ता बुझ्न आउनेहरुको घुँईचो लागेको छ । जसले गर्दा सेवाग्राही स्वयम् तथा बैँक र बैँकका नियमित ग्राहकहरुलाई समेत प्रभाव पर्न गएको छ ।

बेलौरी नगरपालिका वडा नं ५ बाट बैँकमा भत्ता बुझ्न आएकि ज्योतिसरा आचार्य टाढा देखि आउनपर्ने र निजी सवारीसाधन नभएकोले वडा तथा सम्बन्धित निकायले आफुहरुजस्ता वृद्धवृद्धाहरुको लागि सवारीसाधनको व्यवस्था गरिदिए आभारी हुने बताउछिन् ।

ज्योतिसरा आचार्यको केहि पर बसिरहेकि अर्कि वृद्धा बेलु साउँदको पनि उस्तै समस्या छ । उनी शारीरिक रुपमा दृष्टिविहीन छिन् । नातीको सहारामा आउनेजाने गरेको उनी बताउछिन् । सवारीसाधनको व्यवस्था हुन सके धेरै सहज हुने उनको भनाई छ ।

उनैको छेउमा बसिरहेका दुई वृद्धाको भने केहि आक्रोश मिश्रित अनुरोध थियो । नन्दादेवि कुँवर र ८० वर्षिया धनादेवि विष्ट एकै स्वरमा बताउछन्, ‟हामी कहाँ पालो पाउने हो अब ? कति हतार्या भन्छन् । चिनेका जानेका मानिसहरुलाई हेरिहेरि काम गर्दिरहेका छन् । हाम्रो त कोहि पनि छैन ।” उनीहरु बैँकमा आईरहनुभन्दा बरु वडाबाटै भत्ता रकम वितरण गरिदिए सहज हुने थप्दै भन्छन्, ‟हिड्न सक्दैनौँ, अन्त ठाउँमा त वडामा दिन्छन्, अब हाम्ले त बैँकमा आउनपर्यो । बिहानबाट कुद्नपर्यो, भएन भने अर्को दिन आउनपर्यो ।”

उपयुक्त बस्ने मेचको व्यवस्था नभएको, खानेपानी र चर्पीको समेत समस्या रहेको उनीहरुको भनाई थियो । त्यस्तै अपांगतामैत्री संरचना नभएकाले पनि अपांगता भएका व्यक्तिहरुलाई बैँकमा आउनजान समस्या देखिन्थ्यो ।

अर्कोतिर यो समयमा भत्ता कार्ड नवीकरण गर्ने चटारो समेत वडाहरुमा रहेको छ ।

हामीले भत्ता रकम बुझेर भत्ता कार्ड नवीकरणका लागि वडामा आएका वडा नं ६ का वृद्ध उद्दव चन्दसँग कुरा गर्दा बैँकमा चर्पी तथा खानेपानीको समस्या भएको दुःखेसो व्यक्त गरे ।

उनले भने, ‟तल बसिराख्या हुन्छ लाईन राखेर । न पिसाब गर्ने ठाउँ छ, न दिसा गर्ने ठाउँ छ, खानलाई पानी छैन, सुगर भएको मान्छेलाई आधा आधा घण्टामा पिसाब गर्छ, त्यो कहाँ गर्छ ? उनको ठाउँमा जाँदा चाबी लगाएको हुन्छ ।”

सोहि वडाकि चन्द्रा रानाले पनि बैँकमा जाँदा अरु कुरामा सजिलो भएपनि पिउने पानी र चर्पी जान समस्या भएको बताईन् । ‟पानी खान छैन, ट्वाईलेट जाँदा ताला लगाईदिन्छ ।”

यस सन्दर्भमा वडा नं ६ का अध्यक्ष भोजराज चौधरीले सामाजिक सुरक्षा भत्ता प्रक्रिया सक्दो सहज बनाउने कोशिश गरेको बताउछन् । ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, दलित सबैलाई सहज होस् भन्ने हिसाबले सुविधा लिनको लागि कार्यालयमा खानेपानी, कुर्सी तथा पंखाको व्यवस्था गर्ने गरेको र आवश्यकताको आधारमा ग्राह्यता अनुसार सेवा दिएको उनको भनाई थियो ।

बैँकबाट सुविधा लिने प्रक्रियामा भएको समस्याबारे भने आफुसम्म कसैले पनि गुनासो राख्न नआईपुगेको र यदि त्यस्तो समस्या भएको खण्डमा बैँकसँग सहकार्य गर्ने प्रतिबद्धता गरे ।

त्यसैगरि आजको लागि वडा नं ४ को कार्यवाहक अध्यक्ष तथा वडा सदस्य रुद्र प्रसाद अधिकारीले गुनासोहरुको सम्बोधन गर्दै आफुहरुले पनि वृद्धवृद्धा आमाबुवालाई गाह्रो हुने गरेको देखेको स्वीकार्दै बैँकहरुसँग सहकार्य गरेर एकदमै अप्ठेरोमा परेका, अशक्त व्यक्तिहरुको हकमा उनीहरुको घरमै गएर प्रक्रियागत रुपमा भत्ता रकम उपलब्ध गराउने गरेको बताए । यस विषयबारे नगरसभामा पनि पटकपटक कुरा राख्दै आएको उनको भनाई थियो ।

बेलौरी नगरपालिका वडा नं ४ र ५ को लागि सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको महालक्ष्मी विकास बैँकका शाखा प्रबन्धक डम्बरनाथ ओझाले भने वृद्धवृद्धा आमाबुबाको सहजताको लागि बैँकले सक्दो बस्ने ठाउँ र खानेपानी तथा सुविधा लिने प्रक्रिया छिटोछरितो बनाउने व्यवस्था गरेको बताए । यद्यपि सामाजिक सुरक्षा कोषको भत्ता वितरण प्रक्रियामा बैँकले समेत केहि समस्या बेहोर्नुपरेको उनको भनाई थियो । ‟एकैदिनमा डेढसय दुईसय जना आउनुहुन्छ, उहाँहरुलाई एकैचोटि राम्रो ठाउँमा बसाएर सर्भिस दिन सक्ने अवस्था आजको दिनमा नभाकै हो । तर यहि समस्यालाई सक्दो कम गर्ने कोशिश गरेका छौँ”, उनी बताउछन् ।

त्यस्तै, भत्ता बुझ्न आउनेहरुले समेत खातामा आएको रकम उनीहरुको उपस्थिति विना कोही कसैले हिनामिना गर्न नसक्ने र एकपटक खातामा रकम आएपछि सो रकम जुनसुकै समयमा निकाल्न सकिने कुरा बुझ्नपर्ने उनको अनुराेध थियो । यस सन्दर्भमा स्थानीय तहले पनि बैँक सम्बन्धित सरोकारवाला वर्गसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनी बताउछन् । ‟हामी घरमै गएर पनि सेवा दिने गरिरहेका छौँ । जस्तै अशक्त केस आयो अनि बिरामी परेर हिड्नै नसक्ने स्थिति छ भने हामी चेक आफै प्रिन्ट गरेर लग्छौँ र उहाँको घरमै गएर उहाँलाई नै बुझाएर आउने पनि गर्छौँ ।”

त्यसैगरि वडा नं ३ र ६ का लाभग्राहीलाई सामाजिक सुरक्षा कोष भत्ता वितरण गर्ने जिम्मेवारी पाएको कुमारी बैँक, बेलौरी शाखाका प्रबन्धक रविन्द्र के.सी.ले खानेपानी तथा चर्पी लगायत छुट्टै लाईन समेत व्यवस्था गरेर सहज प्रक्रिया बनाउने गरेको बताउछन् । यद्यपि भत्ता आउने बितिकै बैँकमा जान हतारिने प्रवृतिले समेत भीड हुने र लाभग्राही स्वयम्लाई नै अप्ठेरो पर्ने गरेको बताउछन् ।

‟हामीले, वडाले सबैले बसेर यसो यसो भनेर सम्झाउन सक्यौँ भने भीड कन्ट्रोल गर्न सक्छौँ होला । यो टोलको भनेर तोकेर हुन्छ कि या अन्य केहि गरेर यतिका दरले बैँकमा आउने व्यवस्था मिलाउने हो कि ।”

अपांगता भएका व्यक्ति तथा समस्या परेका व्यक्तिहरुको हकमा भने बैँकबाट कर्मचारी घरैमा गएर पनि भत्ताको रकम दिने गरेको उनको समेत भनाई थियो । यद्यपि भत्ता रकम बुझ्न आएकाहरुलाई उनीहरुको परिस्थिती अनुसार बैँकको नियमित काम सँगै साँझको ६ बजे समेत भत्ता रकम दिएको उनको दाबी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ