धनगढी, ११ साउन २०८२। सुदूरपश्चिम प्रदेशकी पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले प्रदेश सरकारमाथि एकपछि अर्को गम्भीर आरोप लगाउनुभएको छ। आईतबार प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै उहाँले दार्चुलामा नागरिकले अकालमा ज्यान गुमाइरहँदा र भ्रष्टाचारका काण्डहरू बाहिरिँदा समेत सरकार ‘मूकदर्शक’ बनेको भन्दै कडा आक्रोश पोख्नुभयो।
बैठकमा पूर्वमन्त्री विकले हालै दार्चुलाको व्यास गाउँपालिकामा तुइन चुँडिदा महाकाली नदीमा बगेर ज्यान गुमाएका नारायण बुढाथोकीको घटनालाई प्रमुखताका साथ उठाउनुभयो। “नागरिकले तुइनबाट खसेर ज्यान गुमाउँछन्, तर प्रदेश सरकार कानमा तेल हालेर बस्छ? योभन्दा गैरजिम्मेवारी के हुन्छ?” भन्दै उहाँले मृतकका परिवारलाई प्रदेशको आकस्मिक कोषबाट तत्काल राहत दिन माग गर्नुभयो।

उहाँले दार्चुलामै घास काट्न जाँदा भिरबाट लडेर मृत्यु भएकी महामती बडु र सुन्दर राम लोहारको परिवारलाई समेत राहत उपलब्ध गराउन आग्रह गरिन्। विकट व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको उल्लेख गर्दै तत्काल सुपथ मूल्य पसल सञ्चालन गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।
प्रदेश सरकारका मन्त्री र सांसदकै भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक हुँदा समेत कुनै कारबाही नभएको भन्दै वि.क.ले सरकारमाथि संरक्षणको आरोप लगाउनुभयो। “सरकार सामाजिक न्याय र सुशासनको मुद्दामा पूर्णतः असफल भएको छ,” उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा सरकार मुकदर्शक बनेको छ।”
दलित समुदायको सशक्तीकरणका लागि ल्याइएको ऐन वर्षौंदेखि कार्यान्वयनहीन अवस्थामा रहेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो। यसैगरी, कैलालीको जानकी गाउँपालिकामा भएको शिक्षक जगदिश पन्तको रहस्यमय मृत्युको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरी आजीवन कारावासको सजाय सुनिश्चित गर्न पनि उहाँले माग गर्नुभयो। उहाँको सम्बोधनले प्रदेश सभामा सुशासन, नागरिक सुरक्षा र सरकारको जवाफदेहिताको बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ।





