काठमाडौँ | २०८२ साउन १९। प्रतिनिधि सभाको छैटौँ अधिवेशनको शून्य समयमा कञ्चनपुर क्षेत्र नं १ का सांसद तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित नागरिकको दीर्घकालीन समाधान र नदीजन्य पदार्थ निकासीका लागि सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।
सांसद तामाङका अनुसार, शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) वि.सं. २०५८ मा विस्तार गर्दा उजाडिएका परिवारलाई पुनर्स्थापित गर्न सरकारले ३२ वटा आयोग गठन गरे पनि समस्याको हल नभएको छ। “विस्थापितहरू ढक्का शिविरलगायत ठाउँमा वर्षौँदेखि कष्टकर जीवन बिताइरहेका छन्,” उनले भने, “मानवीय आधारमा कम्तिमा न्यूनतम सुविधा र स्थायी वासस्थानको व्यवस्थाका लागि सरकारले स्पष्ट योजना ल्याओस्।”
उनले निकुञ्जको मध्यवर्ती क्षेत्र हुँदै बग्ने महाकाली, चौधरलगायत नदीमा तीन–चार वर्षदेखि नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ग्राभेल) ननिकालिएकाले नदी सतह उचालिएर बाढीको जोखिम बढेको उल्लेख गरे। “स्थानीय सुरक्षाका लागि यथासक्य चाँडो नदीजन्य पदार्थ निकाल्ने व्यवस्था मिलाउन म सरकारसँग जोडदार माग गर्दछु,” तामाङले संसदलाई जानकारी गराए।
सांसद तामाङले विस्थापितहरूको पीडामाथि छिटो राहतका साथै दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।





