बेलौरीमा रामलीला तालिम सुरु, ‘नमुना रामलीला मञ्चन’ बनाउने तयारी

सुरज श्रेष्ठ, बेलौरी, श्रावण २३ । बेलौरी सांस्कृतिक तथा रामलीला समितिद्वारा आयोजना हुन लागेको दोस्रो वार्षिक रामलीला मञ्चन कार्यक्रमको तयारी अन्तर्गत ‘तालिम प्रारम्भ कार्यक्रम’ को आज दिउँसो महाकाली माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा समुदघाटन भएको छ।

कार्यक्रमको अध्यक्षता समितिका संयोजक दिनेश कुँवरले गरेका थिए। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट रहेका थिए भने विशिष्ट अतिथिमा बेलौरी नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, बुद्धिजीवी प्रेमसिंह बोहरा तथा अन्य अतिथिहरूको उपस्थिति थियो।

प्रदेशसभा सदस्य बिष्टले रामलीलालाई यस वर्ष भव्य रूपमा मनाउने तयारी भएको उल्लेख गर्दै, गत वर्षको भन्दा अझ राम्रो मञ्चन हुने र सबैको अनुभव तथा सहयोग रहने विश्वास व्यक्त गरे। उनले बेलौरीमा यसलाई ‘नमुना रामलीला मञ्चन’को रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको र यसमा आफ्नो साथ रहेको बताए।

नगरप्रमुख चौधरीले रामलीलालाई बेलौरीको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंशको रूपमा लिएको र यसलाई अझ व्यवस्थित र भव्य बनाउन नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

सभापति कुँवरले अघिल्लो वर्षको ऐतिहासिक सफलता स्मरण गर्दै, यस वर्ष पनि कलाकारहरू ऊर्जाशील रूपमा सहभागी हुने विश्वास व्यक्त गरे। उनले तालिमको औपचारिक सुरुआत भएको घोषणा गर्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको सहजीकरण समितिका सचिव रामेश्वर न्यौपानेले गरेका थिए।  यस कार्यक्रममा सल्लाहकार समितिका सदस्य कर सिंह नगारी, डा. भूपेन्द्र बिष्ट, गोपाल गुरुङ, बलदेव सिंह बुडाल लगायतको उपस्थितिले कार्यक्रमलाई उर्जा प्रदान गरेको थियो। साथै बेलौरी नगरपालिका न्यायिक समिति सदस्य आरती चौधरी , समाजसेवी सत्यप्रकाश बुडाल, मदन चन्द, गजापति चौधरी, हरि सिंह बिष्ट , तथा यस समितिका सदस्यहरु लगायतको सहभागिताले कार्यक्रमको शोभा बढाएको थियो।

तालिम अवधिमा कलाकारहरूलाई संवाद, अभिनय, भाव भंगिमा, गीतसंगीत र पारम्परिक भेषभूषामा विशेष प्रशिक्षण दिइनेछ। आयोजक समितिका अनुसार यस वर्षको रामलीला धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अझ प्रभावशाली र व्यवस्थित हुने लक्ष्यका साथ मञ्चन गरिने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ