बेलौरीः कलकत्तामा नबिल बैंकको आयोजनामा ‘पहिलो’ बृहत रक्तदान कार्यक्रम सम्पन्न

बेलौरी, कञ्चनपुर, श्रावण २८।  कञ्चनपुरको बेलौरीमा अवस्थित नबिल बैंक लिमिटेड कलकत्ता शाखाले नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखाको सहयोगमा कलकत्तामा पहिलो पटक बृहत रक्तदान कार्यक्रम गरेको छ।

शाखा प्रबन्धक पंकज भट्टका अनुसार, यस क्षेत्रमा यसअघि रक्तदान कार्यक्रम नहुँदा जनस्तरमा चेतनाको कमी रहेको थियो। “हामीले रक्त दियौँ भने मानवताको सेवा हुन्छ, शरीरलाई हानी हुँदैन भन्ने सन्देश फैलाउन चाह्यौं,” भट्टले बताए। उनका अनुसार, रगतको खाँचो हुने बिरामीलाई सहज आपूर्ति होस् र मानिसहरू डर हटाएर रक्तदानमा सहभागी होउन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो। “यसअघि हामीले शैक्षिक क्षेत्रमा पहल गरेका थियौं, अहिले स्वास्थ्य क्षेत्रमा पनि उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले थपे।

नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखा कलकत्ताका सभापति दिपेन्द्रकुमार रायले यस क्षेत्रमा रगतको अभाव गम्भीर रहेको बताए। “रगतको आवश्यकता पर्दा भागदौड हुने, तर रक्तदानको चेतना कम देखिएको छ। यो हाम्रो पहिलो प्रयास हो र अपेक्षाभन्दा राम्रो सफलता पाइयो,” रायले भने। उनका अनुसार, कलकत्ता क्षेत्रमा सिकलसेल रोगीहरूको संख्या धेरै भएकाले रगतको माग उच्च छ, जसका लागि नियमित रक्तदान आवश्यक छ।

रक्तदान गर्नुभन्दा पहिला सहभागीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। रक्तदान गरिसकेपछि फलफूल, पानी र पौष्टिक परिकार वितरण गरी दातालाई आरामको व्यवस्था गरिएको थियो।

साथै रक्तादातालाई नेपाल रेडक्रस सोसाईटी द्धारा प्रशंसा पत्र् पनि वितरण गरिएको थियो।

कार्यक्रममा स्थानीय बासिन्दादेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। आयोजकले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। आजको कार्यक्रममा चालिस जनाले रक्तदान गरेको थिए भने उपस्थिति नब्बे जनाको रहेको आयोजकले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ