बेलौरी, कञ्चनपुर, श्रावण ३० । बेलौरी बजार क्षेत्रमा श्रावण २८ गते नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जफत गरिएका अखाद्य वस्तुहरू इलाका प्रहरी कार्यालय बेलौरीमा आज शुक्रबार नष्ट गरिएको छ।

नगर उपप्रमुख जोगराम चौधरी, इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट तथा सञ्चारकर्मीहरूको उपस्थितिमा म्याद गुज्रिएका खाद्य सामग्री, स्वास्थ्यमा हानिकारक रङ (कलर) ,भारतबाट भित्र्याइएका प्रतिबन्धित पेय पदार्थहरू र कालो पोलिथिन ब्याग नष्ट गरिएको हो।

नगरपालिकाले यसअघि गरिएको अनुगमनमा किराना पसल, होटल, फेन्सी पसल, खोका तथा रेस्टुरेन्टमा पुगेर जाँच गर्दा म्याद गुज्रिएका र अखाद्य सामग्रीसहित प्रतिबन्धित वस्तु फेला परेको थियो। नगरपालिकाले यस्ता अखाद्य र प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराउँदै, यस्ता कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






