धनगढी, भाद्र ०३ । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की प्रमुख सचेतक गीता देवी मालले समाजमा अझै पितृसत्तात्मक सोच विद्यमान रहेको बताउनुभएको छ।

प्रदेश सभा महिला समन्वय समितिको आयोजनामा धनगढीमा दुई दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै मालले महिलामैत्री संविधान प्राप्त भए पनि व्यवहारमा महिलामाथि हुने विभेद र हिंसा अझै कायम रहेको औंल्याउनुभयो।

“संविधानले महिलालाई अधिकार सुनिश्चित गरे पनि सदनभित्र महिलाहरू एकताबद्ध भएर अघि बढ्न नसके अधिकार कार्यान्वयनमा कठिनाइ हुनेछ,” मालले भन्नुभयो। उहाँले महिलाहरूको साझा आवाज बलियो बनाउन तथा लैङ्गिक समानता प्रवर्द्धन गर्न कानून र बजेटलाई महिलामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनुका पोखरेल, राष्ट्रिय सभा सदस्य रेणु चन्द, उपसभामुख कोइली चौधरी, संविधान सभा सदस्य डा. बिन्द्रा पाण्डे, प्रमुख राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो। सहभागीहरूले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रदेशसभाबाट महिलामैत्री कानून निर्माण र त्यसको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।





