केशब भट्ट, ०८ भाद्र, कंचनपुर। नेपाली काङ्ग्रेसका नेता, संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश बिधायन तथा मामिला समिति सभापति दिवान सिंह बिष्टले सरकारले उखु किसानलाई विगतका वर्षझैँ अनुदान रकम उपलब्ध गराउनुपर्ने बताएका छन्।

सरकारले आर्थिक वर्ष २०८१/०८२ मा अनुदानको रकम घटाएर प्रति क्विन्टल ३५ रुपैयाँ मात्र दिने घोषणा गरेपछि उखु किसानहरूले बाँकी अनुदान रकम भुक्तानीको माग गर्दै आईतबारदेखि माइतीघर मण्डलामा गरेको धर्नामा सहभागी भएका नेता बिष्टले सरकारले बिगत बर्षहरुमा किसानलाई दिएइको ७० रुपैयाँ अनुदान बापतको रकम उपलब्ध गराउनुपर्ने बताएका हुन्।

उखु उत्पादक महासंघ नेपालको अगुवाइमा उखु किसानहरूले आफ्नो बाँकी अनुदान रकम भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। किसानहरूले उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। उक्त धर्नामा सहभागी हुन प्रदेश सभा सदस्य बिष्ट शनिबार राजधानी गएका थिए।
अनुदानको रकम पटक-पटक माग गर्दा पनि सरकारबाट कुनै स्पष्ट धारणा नआए पछि आन्दोलन गर्नुपरेको कंचनपुर उखु हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द ठाकुरीले जानकारी दिए। उनका अनुसार किसानहरुको मागको विषयमा सरकार गम्भीर नभए थप आन्दोलनको कार्यक्रम घोषणा गरिनेछ।
देशभरिका १३ वटा जिल्लाका करिब ९ सय किसानहरू आन्दोलनमा सहभागी भएको अध्यक्ष चन्दले बताए।उनले किसानहरुका माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्। देशभरिमा १३ वटा सुगर मिलहरु रहेका छन। त्यसमध्ये २ वटा सुगरमिल कंचनपुर जिल्लाको क्षेत्र नम्बर १ मा अवस्थित छन।





