कञ्चनपुर, भाद्र १४ । नेपाल ईँटा उद्योग महासंघ (FNBI) को छैठौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा कञ्चनपुरका दुई ईँटा उद्यमीले स्थान बनाउन सफल भएका छन्।

पुनर्वास नगरपालिका निवासी कृष्णबहादुर तामाङ महासंघको सचिवमा निर्वाचित भएका छन्। तामाङ जनता इँटा उद्योगका सञ्चालक तथा हाल महाकाली ईँटा तथा टायल व्यवसायी संघ, कञ्चनपुरका अध्यक्षसमेत हुन्। लामो समयदेखि इँटा व्यवसायमा संलग्न तामाङले उद्योगको आधुनिकीकरण, वातावरणमैत्री प्रविधि र व्यवसायीको अधिकार संरक्षणमा निरन्तर भूमिका खेल्दै आएका छन्।

त्यस्तै, बेलौरी नगरपालिका निवासी रमेश विष्ट महासंघको सदस्यमा निर्वाचित भएका छन्। विष्ट जगदम्बा इँटा उद्योगका सञ्चालक तथा हाल महाकाली ईँटा तथा टायल व्यवसायी संघका सचिव हुन्। उत्पादनमा गुणस्तर, व्यवसायीको संगठनात्मक एकता र बजार व्यवस्थापनका सवालमा विष्ट सक्रिय रहँदै आएका छन्।

महाकाली ईँटा तथा टायल व्यवसायी संघका अध्यक्ष र सचिव दुवै जना नेपाल ईँटा उद्योग महासंघको नेतृत्व तहमा प्रवेश गर्नु कञ्चनपुरका लागि ठूलो उपलब्धि भएको स्थानीय उद्योगीहरूको भनाइ छ। उनीहरूले यसलाई कञ्चनपुरको ईँटा व्यवसायको प्रतिनिधित्व बलियो बनाउन महत्वपूर्ण कदमका रूपमा लिएका छन्।







