केशब भट्टराई, भाद्र १५ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी, कञ्चनपुरमा यतिबेला सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले कमाण्ड समाल्नुभएको छ । उहाँले कमाण्ड समालेको ६ महिना पूरा भएको छ । यस ६ महिनामा ५ करोड २५ लाख ७१ हजार ७३५ रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्ला २ वर्ष यताको तथ्याङ्क हेर्दा कञ्चनपुरमा कमाण्ड समाल्नुभएका सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द र हालका प्रमुख लोकेन्द्रदेव भट्टको कामको प्रशंसा हुँदै आएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टको नेतृत्वमा फाल्गुनमा १ करोड ३९ लाख ६० हजार २६१ रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै, चैत्रमा ९७ लाख ३ हजार ८१० रुपैयाँ, बैशाखमा ७९ लाख ३१ हजार १८३ रुपैयाँ राजस्व संकलन भएको थियो । जेठमा ५० लाख २९ हजार ६१६ रुपैयाँ, असारमा ६८ लाख १३ हजार ४९५ रुपैयाँ र श्रावणमा ९१ लाख ३३ हजार ३७० रुपैयाँ राजस्व संकलन गर्दै ६ महिनामा ५ करोड २५ लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले बताउनुभयो । गत वर्ष यही अवधिमा ३ करोड ४८ लाख ४४ हजार ५८ रुपैयाँ संकलन भएको थियो । यसरी हेर्दा ६ महिनाको अवधिमा अहिले १ करोड ७७ लाख २७ हजार ६७७ रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

यतिबेला सशस्त्र प्रहरीले सिमाक्षेत्रमा कडाइ समेत बढाएको छ । पछिल्लो समय बर्डफ्लुको समेत जोखीम बढेको बताउँदै सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले समुदायस्तरबाट पनि साथ र सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले गत शुक्रबार पुनर्वास नगरपालिकामा भएको एक कार्यक्रममा खुला सिमाक्षेत्रबाट एक पिस कुखुरा भित्रिन नदिन आफू मातहतका युनिटलाई निर्देशन दिनुभएको छ । उहाँले जसको क्षेत्रबाट कुखुरा र मासुजन्य पदार्थ नेपाल भित्रियो भन्ने गुनासो आउँछ, सो क्षेत्रका बिओपी प्रमुखहरूले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।

यसैबीच शनिबार पुनर्वास–८ खड्डाकंकडमा सशस्त्र प्रहरी बल नेपाल बिओपी (बोर्डर आउट पोस्ट) खड्डाकंकडको नयाँ भवन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले कमाण्ड समालेयता ६ महिनाको अवधिमा जिल्लाको दक्षिणी क्षेत्र (बिओपी झिलमिला देखि बिओपी डोकेबजारसम्म) १४ लाखभन्दा बढीको कुखुरा, माछा र अण्डा बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ५७५ किलोग्राम कुखुरा, ८७८ किलोग्राम माछा र १०८ क्यारेट अण्डा दक्षिणी क्षेत्रमा मात्रै बरामद गरी नष्ट गरिएको छ ।

गत वर्ष सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले आफ्नो कार्यकालमा झण्डै १० करोड रुपैयाँ राजस्व संकलन गर्नुभएको थियो । उहाँले ९ करोड ८४ लाख ८८ हजार ५०७ रुपैयाँ राजस्व संकलन गर्नुभएको थियो । तर सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्टले भदौ १३ गतेसम्म ६ करोड ६ लाख ६३ हजार ३२० रुपैयाँ राजस्व संकलन भइसकेको छ । अब बाँकी रहेको झण्डै साढे पाँच महिनाको अवधिमा कति राजस्व उठ्छ ? त्यो भने हेर्न बाँकी नै छ ।






