बैतडीका किरन कोलीको मृत्यु प्रकरण: न्याय खोज्दै काठमाडौं पुगेकी आमाले प्रचण्डलाई भेटिन्

काठमाडौं, भाद्र १८। बैतडीको डिलासैनी गाउँपालिकामा करेन्ट लागेर मृत्यु भएका १४ वर्षीय किरन कोलीको परिवारले न्यायको लागि संघर्ष जारी राखेको छ। स्थानीय स्तरमा न्याय नपाएको भन्दै मृतककी आमा राजमति कोली न्याय खोज्दै काठमाडौँ आइपुगेकी छन्। यसै क्रममा उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलको नेतृत्वमा, सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य पूर्वमन्त्री लक्ष्मी बिक, केन्द्रीय सदस्य गोविन्द बिक, प्रदेश समिति सदस्य निरु कोली, चक्र रैकाल, कञ्चनपुर जिल्ला सचिव सहविर सुनार लगायतका नेताहरूको टोलीले पीडित परिवारलाई अध्यक्ष प्रचण्डसँग भेट गराएको हो। भेटका क्रममा प्रचण्डले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन आफ्नो तर्फबाट पूर्ण सहयोग र प्रयास रहने आश्वासन दिएका छन्।

गत साउन १७ गते डिलासैनी गाउँपालिका–३ गिरीबगडका १४ वर्षीय किरन कोलीको चमेलिया नदी किनारमा थुपारिएको बालुवाको थुप्रोमाथि रहेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको थियो। पोस्टमार्टम रिपोर्टले पनि उनको मृत्युको कारण करेन्ट लागेर नै भएको पुष्टि गरेको छ।

यो घटना सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालसँग जोडिएपछि थप विवादित बनेको हो। नदी किनारमा बालुवा थुपार्ने कार्य निङ्लासैनी कन्स्ट्रक्सनले गरेको थियो, जुन कम्पनी मन्त्री पालकी श्रीमतीको नाममा दर्ता छ। यद्यपि, मन्त्री पालले उक्त कम्पनी भाडामा दिइएको र घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्।

घटनापछि पीडित परिवारले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए।राजमति कोलिका अनुसार न्याय चाहिएको भन्दै उनले जिल्ला प्रहरी कार्यालयमा मन्त्री पाल, उनका छोरा र वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन। प्रहरीले घटनास्थलमा उनीहरुको संलग्नता नदेखिएको भन्दै जाहेरीको व्यहोरा मिलाएर ल्याउन भनेको थियो। पटक-पटकको प्रयासपछि उनले हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। स्थानीय स्तरबाट न्याय पाउने आशा मरेपछि उनी राजनीतिक दलका नेताहरूको सहयोगमा न्यायको ढोका ढकढकाउन काठमाडौँ आइपुगेकी उनले बताएकी छन् । प्रचण्डसँगको भेटले अब यो प्रकरणमा पिडित पक्षले न्याय पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ