बेलौरीका पुराना कांग्रेस नेता पदमसिंह धामीले पार्टी त्यागे, जेन जी आन्दोलनलाई ऐक्यबद्धता

बेलौरी, कञ्चनपुर – देशव्यापी रूपमा फैलिएको ‘जेन जी’ युवा आन्दोलनको प्रभाव स्थानीय राजनीतिमा पनि देखिन थालेको छ। यही क्रममा, नेपाली कांग्रेसका पुराना नेता तथा समाजसेवी पदमसिंह धामीले पार्टीको क्रियाशील सदस्यता त्यागेको घोषणा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै सडकबाट सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका युवाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको हो।

बेलौरी नगरपालिका वडा नम्बर ७ निवासी धामी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। उहाँ बेलौरी नगरपालिका वार्ड नं ७ स्थित राम रामेश्वर शिवधाम मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्छ।

आफ्नो सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “जेन जीले सडकबाट उठाएको सुशासन, भ्रष्टाचार विरुद्धको आवाज र व्यवस्था परिवर्तनको चाहनाले मलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य बनायो। देशले नयाँ सोच र नयाँ बाटो खोजिरहेको बेला पुरानै शैलीको राजनीतिमा अल्झिरहनु देशप्रतिको बेइमानी हुनेछ।”

यो निर्णयसँगै अब आफू कुनै पार्टीको सदस्य नभई एक स्वतन्त्र र सचेत नागरिकको भूमिकामा रहने उहाँले स्पष्ट पार्नुभएको छ। “त्यसैले, आजकै मितिदेखि मैले नेपाली कांग्रेसको क्रियाशील सदस्यता त्याग गरी सडकमा उत्रिएका युवाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छु। अब म कुनै पार्टीको सदस्य होइन, एक स्वतन्त्र र सचेत नागरिक हुँ,” उहाँले आफ्नो घोषणामा उल्लेख गर्नुभएको छ।

देशभरि सुशासन, रोजगारी र भ्रष्टाचार अन्त्यको माग गर्दै युवाहरूले स्वतःस्फूर्त रूपमा ‘जेन जी’ आन्दोलन गरिरहेका छन्। यही राष्ट्रिय परिप्रेक्ष्यमा, नगरपालिकामा पुराना राजनीतिक दल परित्याग गर्ने व्यक्तिहरू स्वतः रूपमा दल सदस्यता त्याग गरिरहेका छन्। धामीको यो कदमले स्थानीय स्तरमा राजनीतिक दलहरूमाथि थप दबाब सिर्जना गर्नसक्ने र अन्य कार्यकर्ताहरूलाई पनि सोच्न बाध्य बनाउन सक्ने विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ