बेलौरीमा जेन-जीको अल्टिमेटम: ‘राजीनामा दिनुस्, नत्र परिणाम भोग्नुस् !’

बेलौरी, कञ्चनपुर ,भाद्र २४।  देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनको प्रभाव स्थानीय तहमा देखिन थालेको छ। कञ्चनपुरको बेलौरीमा सक्रिय ‘जेन-जी बेलौरी’ समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्र अनियमित रूपमा नियुक्त भएका र भ्रष्टाचारमा संलग्न करार कर्मचारीहरूलाई तत्काल राजीनामा दिन चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको मिति २०८२ भाद्र २४ गतेको विज्ञप्तिमा जेन-जी आन्दोलनलाई सफल बनाउन सहयोग गर्न यस्तो माग गरिएको उल्लेख छ। “बेलौरी नगरपालिका भित्र अनियमित रूपमा नियुक्त हुनुभएका, भ्रष्टाचारमा लिप्त हुनु भएका करार कर्मचारीहरूले आ-आफ्ना पदबाट राजीनामा दिएर Gen-Z आन्दोलनलाई सफल बनाइदिन हुन विनम्र अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

समूहले आफ्नो अनुरोधलाई विनम्र भने पनि चेतावनीको भाषा भने कडा रहेको छ। विज्ञप्तिको अन्त्यमा भनिएको छ, “यदि यसलाई अवज्ञा गरेमा त्यसपछि हुने जुनसुकै किसिमको परिस्थिति स्वयं बेहोर्न तयार रहनुहोला।”

मंगलबार नै राजधानीसहित देशका विभिन्न भागमा जेन-जी प्रदर्शनकारीहरूले शीर्ष नेता र सरकारी कार्यालयहरूलाई निशाना बनाएका थिए। यही राष्ट्रिय आन्दोलनको पृष्ठभूमिमा स्थानीय स्तरमा जारी यो चेतावनीले बेलौरी नगरपालिकाका कर्मचारीहरू र स्थानीय सरोकारवालाहरूमाझ एक प्रकारको तनाव र कौतुहलताको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ