बेलौरीमा Gen-Z को सक्रियता: वाचा अनुसार दोस्रो दिन पनि सडक मर्मत, राति समेत काम जारी

बेलौरी, कञ्चनपुर – बेलौरीका Gen-Z युवाहरूले सडक मर्मतको दोस्रो दिन पनि आफ्नो सक्रियता जारी राखेका छन् । नगरपालिकालाई दबाब दिएर सडक मर्मत थालनी गराएको भोलिपल्टै युवाहरू स्वयं फिल्डमा खटिएर ग्रेडर लगाई खाल्डाखुल्डी पुर्ने कामको अनुगमन र सहजीकरण गरेका हुन् ।

हिजो नगरपालिका कार्यालयमा भएको दबाबमूलक कार्यक्रमपछि प्राप्त प्रतिबद्धता अनुसार आज बिहानैदेखि बेलौरीका विभिन्न मुख्य सडकहरूमा ग्रावेल हाल्ने कार्य चल्न थालेको हो । महाकाली बहुमुखी क्याम्पस अगाडि, महाकाली माध्यमिक विद्यालय नजिक, तथा कृष्ण आधारभुत विद्यालय, रिछाहा अगाडिको खाल्डो समेत पुरिँदै जान थालेको छ ।

कृष्ण आधारभुत विद्यालय अगाडिको ठूलो खाल्डो राति समेत काम गरेर मर्मत भइरहेको छ । युवाहरू रातिसम्म फिल्डमै बसेर कामलाई सहज बनाइरहेका छन्, जसले गर्दा मर्मत कार्यमा गति आएको छ ।

लामो समयदेखि जीर्ण सडकका कारण सास्ती खेप्दै आएका बासिन्दाहरूले युवाहरूको यो कदमलाई प्रशंसा गरेका छन् । “पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हैरान थियौँ, तर अब सहज हुने भयो,” एक स्थानीयले भने ।

Gen-Z समूहले भने यो सुरुवात मात्र भएको र नगरपालिकाले गरेका सबै वाचा पूरा नभएसम्म निरन्तर खबरदारी र सहकार्य गरिरहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ