सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वमा पनेरु, पुनर्वासका सापकोटा कोषाध्यक्ष र बेलौरीका ढकाल सदस्यमा विजयी

बेलौरी, कञ्चनपुर।

सुदूर पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट महत्वपूर्ण प्रतिनिधित्व स्थापित भएको छ। निर्वाचन मण्डलद्वारा सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार पुनर्वास नगरपालिकाका व्यवसायी सुमन सापकोटा कोषाध्यक्ष पदमा र बेलौरी नगरपालिकाका व्यवसायी हरि प्रसाद ढकाल सदस्य पदमा निर्वाचित भएका छन्।

संस्थाको नयाँ नेतृत्वका लागि भएको प्रतिस्पर्धामा अध्यक्ष पदमा खगेन्द्रराज पनेरु ५४ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी श्यामराज जोशीले ३८ मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्ष (लेखा) पदमा दीपक विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ।

रोचक प्रतिस्पर्धा भएको कोषाध्यक्ष पदमा कञ्चनपुरको पुनर्वास निवासी सुमन सापकोटाले ४७ मत प्राप्त गर्दै जित हासिल गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी केशवदत्त भट्टले ४२ मत प्राप्त गर्नुभएको थियो। यसैगरी बेलौरी निवासी हरि प्रसाद ढकालले ४८ मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको छ।

अन्य प्रमुख पदाधिकारीहरूमा उपाध्यक्ष (प्रशासन) तर्फ टेकबहादुर बोहरा ५३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी गणेश कँडेलले ३९ मत पाउनुभएको छ। महासचिव पदमा जयशंकर ठाकुर ५४ मतसहित निर्वाचित हुँदा वासुदेव आचार्यले ३८ मत प्राप्त गर्नुभएको छ। सचिव पदमा विवेक विष्टले ६० मतका साथ जित हात पार्दा तपेन्द्र चन्दले ३२ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ।

कार्यसमितिको सदस्य पदमा निर्वाचित हुने अन्य उम्मेदवारहरूमा डम्बर खत्री (६६ मत), सुनिल थापा (५७ मत), भवानी प्रसाद जैशी (५३ मत), मोहन सिंह विष्ट (५२ मत), जोगिराम प्रसाद चौधरी (५१ मत) र चक्रबहादुर बोहरा (५० मत) रहनुभएको छ। यस्तै सदस्य पदका अन्य प्रतिस्पर्धीहरू अरुण मल्लले ४५ मत, अजय बमले ४२ मत, तरुण लखेराले ४० मत, तखत बहादुर खत्रीले ३७ मत र कैलाश ठगुन्नाले २९ मत प्राप्त गर्नुभएको छ।

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास र बेलौरीबाट संस्थाको महत्वपूर्ण जिम्मेवारीमा सापकोटा र ढकाल निर्वाचित भएपछि स्थानीय स्तरमा पेट्रोलियम आपूर्ति व्यवस्थापन थप सहज, व्यवस्थित र पारदर्शी बन्ने विश्वास लिइएको छ। नवनिर्वाचित कार्यसमितिले प्रदेशभर पेट्रोलियम व्यवसायमा देखिएका समस्या समाधान गर्दै सेवाग्राही तथा व्यवसायीहरूको हित प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ