भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा नेवाः देय् दबू र कञ्चन नेवाः समाज पुनर्वासद्वारा गाईजात्रा प्रदर्शन

पुनर्वास (कञ्चनपुर)

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूको चिरशान्तिको कामना गर्दै कञ्चनपुरको पुनर्वासमा विशेष गाईजात्रा कार्यक्रम आयोजना गरिएको छ। नेवाः देय् दबू एवं कञ्चन नेवाः समाज पुनर्वासको संयुक्त आयोजनामा शनिबार दिवंगत आत्माहरूको स्मृति तथा सम्मानमा परम्परागत सांस्कृतिक पदयात्रा निकालिएको हो।

​पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित प्रतिभानगर (टाउन) बजार क्षेत्रमा आयोजित उक्त पदयात्रामा नेवार समुदायका महिला तथा पुरुषहरू आफ्ना मौलिक परम्परागत भेषभूषामा सजिएर सहभागी भएका थिए। र्‍यालीमा सहभागीहरूले भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना, धैर्यधारण गर्ने शक्ति मिलोस् तथा तपाईंको स्मृति हाम्रो हृदयमा सधैँ रहिरहनेछ जस्ता सन्देश लेखिएका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए।

​देश प्राकृतिक विपत्तिको गहिरो शोकमा रहेका बेला मौलिक परम्परालाई सामाजिक संवेदनासँग जोड्दै दिवंगत आत्माहरूप्रति सम्मान प्रकट गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा नेवाः देय् दबू कञ्चन नेवाः समाज पुनर्वासका अध्यक्ष तिलकुमार श्रेष्ठले चाडपर्वको पूर्वसन्ध्यामा घटेको यस अप्रत्याशित र दुःखद विपत्तिले सम्पूर्ण देशवासीलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकहरूको आत्माको चिरशान्तिका निम्ति संस्कृतिअनुसार गाईजात्रा निकालेर सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको जानकारी दिनुभयो।

​करिब एक सय जनाभन्दा बढी स्थानीय अगुवा, महिला तथा पुरुषहरूको उपस्थिति रहेको उक्त कार्यक्रममार्फत प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धता प्रकट गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ