बेलौरी: कोरोनामा संकलित रकमको ढिलै भए पनि सार्वजनिक भयो, २५ लाखको आय-व्यय

बेलौरी, १ असोज। लामो समयको सार्वजनिक प्रतीक्षा र जवाफदेहिताको प्रश्नलाई अन्ततः सम्बोधन गर्दै कोरोना (कोभिड-१९) महामारीको समयमा बेलौरीमा सङ्कलन गरिएको राहत कोषको आय-व्यय विवरण आज सार्वजनिक गरिएको छ। नागरिक स्तरमा उठेको पहलकदमीमा पारदर्शिताको अभावलाई लिएर चलिरहेको बहसका बीच, अभियानका संयोजक खडक शाहले पत्रकार सम्मेलनमार्फत सङ्कलित र खर्च भएको रकमको हिसाब प्रस्तुत गर्नुभएको हो।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संयोजक शाहको टिम, उद्योग वाणिज्य संघका पदाधिकारी तथा अन्य प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो। प्रस्तुत गरिएको आधिकारिक विवरण अनुसार, स्वदेश तथा विदेशमा रहेका दाताहरूबाट कुल २५ लाख १३ हजार ३५ रुपैयाँ ७० पैसा को प्रतिबद्धता आएको थियो। उक्त रकममध्ये महामारीविरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री तथा अन्य राहत कार्यमा १२ लाख १० हजार ७ सय ७० रुपैयाँ खर्च भएको देखाइएको छ।

वित्तीय विवरणलाई थप स्पष्ट पार्दै शाहले हाल कोषमा नगद ७ लाख ७० हजार ३ सय ४८ रुपैयाँ बचत रहेको र दाताहरूबाट प्रतिबद्धता गरिएको ३ लाख ५२ हजार ७ सय ८८ रुपैयाँ ७० पैसा उठ्न बाँकी रहेको जानकारी दिनुभयो।

सार्वजनिक गरिएको खर्चको विवरण हेर्दा, रकमको अधिकांश हिस्सा कोरोना महामारीविरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा केन्द्रित रहेको देखिन्छ। विवरण अनुसार, अक्सिजन कन्सन्ट्रेटर (७ लिटर र १० लिटर), बिरामीको मुटुको चाल नाप्ने ‘कार्डियाक मनिटर’, पीपीई सेट, कोभिड एन्टिजेन किट्स, डिजिटल अक्सिमिटर, सर्जिकल ग्लोभ्स जस्ता जीवनदायी सामग्रीहरू खरिद गरिएको थियो।

विवरण सार्वजनिक गर्न भएको ढिलाइबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै संयोजक शाहले यसलाई आफ्नो समूहको कमजोरीको रूपमा खुलेर स्वीकार गर्नुभयो। “ढिलाइ भएकै हो, यसमा हामी गल्ती स्वीकार्छौं र क्षमा चाहन्छौं,” शाहले भन्नुभयो, “विभिन्न परिस्थितिले समयमै यो काम गर्न सकेनौं। तर हाम्रो नियतमा कुनै खोट थिएन। जनताले विश्वास गरेर दिएको हरेक पैसाको सदुपयोग भएको छ र त्यसको प्रमाण आज हामीले प्रस्तुत गरेका छौं।” उहाँले अब उपरान्त यस्ता आर्थिक विषय भएको सामाजिक काममा आफू सक्षम नरहेको र भविष्यमा संलग्न नहुने बताउनुभयो।

समूहले दाताहरूको नामावलीदेखि खर्चका सम्पूर्ण बिवरण समेत सार्वजनिक गरेको छ। बचत रहेको नगद रकमलाई समुदायकै सल्लाह र सहमतिमा अन्य सामाजिक कार्य वा भविष्यमा आउन सक्ने विपद् व्यवस्थापनका लागि खर्च गरिने योजना रहेको शाहले बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ