बेलौरी, असोज २।बेलौरीका युवाहरूले नगरपालिकाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै आज ६-बुँदे मागपत्र पेस गरेका छन्। ‘जेन-जी बेलौरी तथा समर्थक’ समूहले नगर प्रमुखको कार्यालयमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै राजनीतिक आधारमा गरिएका नियुक्ति खारेज गर्न र अलपत्र विकासका काम तुरुन्त सम्पन्न गर्न अल्टिमेटम दिएको हो।
“हाम्रो पुस्ताको हकहित र सामाजिक, शैक्षिक, रोजगारी जस्ता विषयमा नगरपालिका संवेदनशील हुन आवश्यक छ,” दर्जनौं युवाहरूद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हामी युवाहरूको आवाजलाई राज्यले सम्बोधन गरोस् भन्ने चाहन्छौं।”

पत्रमा समूहले नगरपालिकामा राजनीतिक पहुँचका आधारमा नियुक्ति लिएका सम्पूर्ण करार कर्मचारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको छ। यसका साथै, नगरभित्र अलपत्र परेका सबै सडकहरूको यथाशीघ्र मर्मत-सम्भार गर्न, नगर भित्र रहेका हाटबजारलाई तुरुन्तै पुनः सञ्चालनमा ल्याउन र नगरको फोहोर तथा ढल निकासको तत्काल उचित व्यवस्थापन गर्न पनि माग गरिएको छ। उनीहरूले निर्माण सकिएर अलपत्र परेका सार्वजनिक सम्पत्तिहरूको संरक्षण गरी सञ्चालनमा ल्याउनुपर्ने र ‘संविधान चोक’ लाई ‘जेन-जी चोक’ को रूपमा आधिकारिक घोषणा गर्नुपर्ने विषय पनि उठाएका छन्।

युवाहरूले बुझाएको यो मागपत्रले स्थानीय सरकारलाई नागरिकका मुद्दाहरूमा जवाफदेही बन्न दबाब दिएको छ। अब सबैको ध्यान बेलौरी नगरपालिकाले यी मागहरूमाथि के कदम चाल्छ भन्नेमा केन्द्रित भएको छ।





